मूल खबर

राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका निम्ति सघाउन आग्रह

काठमाडौँ- कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गर्नुभएको छ ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गर्नुभएको हो ।

उहाँले गत अप्रिल २० मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलकातर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिनुभएको थियो ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button