मूल खबरहेड लाइन

सुधारतर्फ अर्थतन्त्र वृद्धिदर ५.१ प्रतिशत

काठमाडौँ, चैत १५ गते । चालु आर्थिक वर्ष २०८/८२ को दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा मुलुकको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादन मापनमा प्रयोग गरिने १८ वटै औद्योगिक क्षेत्रमा देखिएको सुधारका कारण मुलुकको अर्थतन्त्र गत आवको सोही अवधिको तुलनामा ५.१ प्रतिशतले विस्तार हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको हो । दोस्रो त्रैमासिकमा यातायात, निर्माण, कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि नै अर्थतन्त्र विस्तारको मुख्य कारण बनेको कार्यालयले जनाएको छ । अर्थतन्त्र वृद्धिदरको यो अनुमान मौसमी प्रभाव समायोजन नगरिएको अवस्थाको हो ।

यातायातको वृद्धिदर अगाडि

कार्यालयका अनुसार गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा यातायात तथा भण्डारण क्षेत्रसँग सम्बन्धित क्रियाकलापको कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धेरै अर्थात् १४.२ प्रतिशत रहेको छ ।

त्यस्तै खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशतले वृद्धि हुँदा विद्युत् तथा ग्यास क्षेत्रले ९.२ प्रतिशतले वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

निर्माण क्षेत्रमा पनि स्पष्ट सुधार देखिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर सामना गरेको यस क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत रहने अनुमान छ । निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिका कारण यस क्षेत्रको वृद्धिदर देखिने कार्यालयले जनाएको छ ।

उत्पादनमूलक उद्योगको वृद्धिदर पनि ७.४ प्रतिशत हुने अनुमान छ । औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आउँदा उत्पादनमूलक उद्योगको विस्तार हुने देखिएको हो ।

निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रमा मूल्य अभिवृद्धि दर ६.६ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ। व्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत रहँदा सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत हुने अनुमान छ ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रको वृद्धिदर भने सामान्य मात्र हुने प्रक्षेपण गरिएको छ । धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातका फलफूल तथा हिउँदे फलफूल र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ ।

कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा आएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धि थप विस्तार हुने अनुमान गरिएको छ । मौसमी प्रभावको अवस्थालाई समेत समायोजित गर्दा भने चालु आवको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर २.२ प्रतिशत पुग्ने कार्यालयको अनुमान छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button