खबरहेड लाइन

ज्ञानेन्द्रले जनता र पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा उठाए: अध्यक्ष दाहाल

सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले नाजायज फाइदा उठाएको आरोप लगाएका छन् ।

सिन्धुलीको दुधौलीमा आयोजित नेकपा माओवादीको दुधौली नगर कमिटीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता र पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा ज्ञानेन्द्रले उठाएको बताउनुभयो ।

ज्ञानेन्द्रले फेरी गुण्डागर्दी हत्या हिंसा जस्ता काम गर्छन् भने उनलाई जनताले छुट दिँदैनन् अध्यक्ष दाहालले भन्नुभयो ।

ज्ञानेन्द्र शाहलाई छुट दिन हुँदैन भन्ने आवाज जनस्तरबाटै उठेको भन्दै उहाँले सबै राजनीतिक दलहरूले ज्ञानेन्द्र शाहलाई छुट दिन नसकिने धारणा राखेको प्रस्ट्याउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले माओवादी र समाजवादी मोर्चाले गरेको सभा संयमित अनुशासित रूपमा प्रस्तुत भएको र राजावादीहरूको सभा हत्याराको सभाको रूपमा परिचित भएको बताउनु भयो ।

गणतन्त्रबादीहरुले गरेको विशाल सभा हिरोहरूको सभा जस्तो देखियो भने राजावादीहरूको सभा भिलेन अपराधिको सभा भयो उहाँले भन्नुभयो तीनकुनेमा जे भयो त्यो सबै ज्ञानेन्द्रको मूर्खताले र विवेकहीनताको कारण भएको हो ।

ज्ञानेन्द्रलाई छाडा छोड्न नसकिने सकिँदैन, उहाँले भन्नुभयो राजावादीहरूको प्रदर्शनका क्रममा चैत १५ गते तीनकुनेमा भएका हत्याको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्छ ।

अध्यक्ष दाहालले आफ्नै घरमा भयानक हत्याको मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न केही जस्तो नमानेको आरोप लगाए । चैत १५ गतेले गणतन्त्रबादीहरुको हाइट र राजावादीहरूको नीचतालाई प्रस्ट पारेको अध्यक्ष दाहालको भनाई छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा यो सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारीको रक्षा गरेको आरोप लगाउनु भयो ।

जनताले सोचेजस्तो उपलब्धि नभएको भन्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले गाँउ गाँउमा सेवा दिए पनि जनताले सोचेअनुसार सरकारले काम गर्न नसकेको बताउनु भयो ।

आफूहरू भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन तराई मधेस जागरण अभियान भएको र मध्य पहाडी राजमार्ग भएर समेत जागरण अभियान सञ्चालन गर्दै जनतामाझ पुग्ने गरी तयारी भएको अध्यक्ष दाहालको भनाई थियो । उहाँले आफूहरूको पार्टी देशमा सुशासन कायम गराउन र भ्रष्टाचार नियन्त्रण गर्न सङ्कल्प गरेर लागेको बताउनु भयो ।

पछिल्लो समय गाँउ गाँउमा भौतिक सुविधाहरू थपिँदै गएको भन्दै दुधौली नगर अस्पतालले जनतालाई राम्रो सेवा दिएको बताउनु भयो । यहाँ विगतका वर्षमा बर्सेनि विषालु सर्पको टोकाइबाट मान्छे मर्ने गरेका थिए तर यस बर्ष सर्पको टोकाइले एक जनाले पनि ज्यान गुमाउनु परेको छैन यो खुसीको कुरा हो उहाँले भन्नुभयो ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button