खबरहेड लाइन

जङ्गलमै पाक्छ बिहानको खाना

डोको बुन्न सिकाउँदै हरिनास–४,राम्चेका किसान । तस्बिर : हरिप्रसाद सुवेदी ‘सुशील’

हरिप्रसाद सुवेदी ‘सुशील’

पुतलीबजार (स्याङ्जा), चैत २५ गते । हरिनास गाउँपालिका–४, राम्चेका २० घरधुरीले बिहानको खाना जङ्गलको एउटै भान्सामा खान थालेको दुई महिना भयो । उनीहरूले खाना मात्रै सँगै खाएका छैनन्, उत्पादनसँग जोडिन रोदीबारी जङ्गल फँडानी गरेर १४० रोपनी जमिनमा सामूहिक अदुवा रोप्न थालेका छन् ।

राम्चेका २० घरधुरीले रोदीबारीमै त्रिपाल गाडेर भान्सा बनाएका छन् । उनीहरूले कृषिकर्म गर्ने र दैनिक वनभोज जस्तै बारीमै खाना खाँदा गाउँलेबिच सामाजिक एकता विकास भएको कृषक कमलबहादुर राना बताउनुहुन्छ ।

२६ वर्ष साउदीमा पसिना बगाएर नेपाल फर्कनुभएको राना भन्नुहुन्छ, “हामीले अर्गानिक कृषि फर्म दर्ता गरेर मसला बाली अन्तर्गत अदुवा लगाएका छौँ ।” जङ्गली जनावरको आतङ्कले लामो समयदेखि प्रयोगविहीन रही झाडी भरिएको जमिनमा अहिले अदुवा खेती सुरु गरिएको हो । बिहान १० देखि अपराह्न ४ बजेसम्म संयुक्त रूपमा अदुवा रोप्दा निकै आनन्द हुने उनीहरूको भनाइ छ । स्थानीयस्तरमा सामूहिक श्रमदान र समन्वयमार्फत पुनः कृषियोग्य बनाइएको जमिनमा अदुवा खेतीले भविष्यमा राम्रो आम्दानी दिने किसानहरूको अपेक्षा छ । एकातिर बाँदर आतङ्कबाट मुक्ति पाइने र अर्कातिर प्रतिफल पनि राम्रो आउने भएपछि उनीहरू सामूहिक मेहनत गर्न अग्रसर भएका हुन् । “बाँदर र मृगले कोदो, मकै खाएपछि हामीले खेती गर्न छाडेका थियौँ, अहिले सबै मिलेर झाडी फँडानी गर्‍यौँ र अदुवा लगाएका छौँ,” अर्गानिक कृषि फर्मका सचिव ईश्वरबहादुर थापाले बताउनुभयो ।

पहिलो चरणमा अदुवा लगाएका यहाँका किसानले सामूहिक अलैँची खेती गर्ने तयारीमा रहेको थापाको भनाइ छ । यस्ता किसानलाई प्रोत्साहन गर्न हरिनास गाउँपालिकाले १२ लाख रुपियाँ सहयोग गरेको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजार व्यवस्थापन गर्न उक्त जङ्गलसम्म पुग्ने कृषि सडकसमेत निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिम मानन्धरले बताउनुभयो ।

रोदीबारी जङ्गलमा अहिले कृषि उद्यम मात्र भएको छैन, पुराना पुस्ताले नयाँ पुस्तालाई सिप सिकाउने थलो पनि बनेको छ । विदेशबाट फर्किएका युवालाई पुराना पुस्ताले डोको, नाम्लो बुन्न त्यहीँ सिकाउने गर्छन् र उत्पादनलाई पनि सदुपयोग गर्ने गरेका छन् ।

यहाँ उत्पादित डोको, नाम्लो यहीँ प्रयोग हुने र बढी भएको उत्पादन नजिकको बजार दुलेगौँडा र भिमादमा खपत हुने दलबहादुर राना बताउनुहुन्छ । “नयाँ पुस्ताले डोको र नाम्लो बनाउन जान्दै जान्दैनन्, हामीले नयाँ पुस्तालाई सिपसँगै कृषिकर्ममा लाग्न सिकाएका छौँ,” रानाले बताउनुभयो ।

सामाजिकता, श्रम र साझा भविष्यप्रति आशावादी यो अभियानले गाउँका बेरोजगार युवामा सकारात्मक ऊर्जा थपिदिएको छ । हिँड्न पनि डर लाग्ने रोदीबारी जङ्गल अहिले हराभरा मात्र भएको छैन, सिकाइ केन्द्रका रूपमा स्थापित भएको छ ।

अहिले स्याङ्जामा सामूहिक खेती गर्ने र उत्पादनसँग जोडिने युवा पुस्ताको सङ्ख्या बढ्दो छ । यद्यपि सहुलियत कृषि कर्जामा बैङ्क तथा वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोण फरक छ । उत्पादनको बजार सुनिश्चित नहुने समस्याले कहिलेकाहीँ किसान निराश हुन बाध्य छन् ।

सरकारले उत्पादनमा आधारित अनुदान, सहुलियत कृषि कर्जा र बजार सुनिश्चित गर्ने नीतिलाई प्राथमिकतामा राख्न सके किसानको आकर्षण स्वदेशमै हुने उनीहरूको साझा धारणा छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button