मूल खबरहेड लाइन

नयाँ वर्षमा पुरानो झल्को

पुरानो खेल बाघचाल खेलिरहेका बालबालिका तथा बाघचाल खेल्न सिकाउँदै स्थानीयवासी ।

कविराज घिमिरे

हिले, वैशाख ३ गते । बालबालिकाहरू कोही गोट्टी खेलिरहेका, कोही बाघचाल खेलिरहेका । केही त्यही खेल हेरेर रमाइरहेका । बुढापाका पुराना कालो र सेतो मिश्रित तस्बिरमा हराइरहेका । केही दुनाटपरी गाँसिरहेका र कोही घुम्ने कुर्सी खेलिरहेका । कोही बालबालिका तथा बुढाबुढी पहिलेको समयका कुपी, लालटिन, पुरानो प्रविधिको फोन, बाजागाजा, रेडियो आदि हेरेर टोलाइरहेका । झट्ट कल्पना गर्दा केही दशकअघि बुवा पुस्ताको समय जस्तो लाग्ने यो चित्रण नयाँ वर्षमा धनकुटाको कोप्चेस्थित बिहीबारे हटियाको हो । यहाँ कोप्चे पुनर्जागरण अभियानले नयाँ वर्षका अवसरमा तेस्रो कोप्चे उत्सव आयोजना गरेको छ, जहाँ अन्यत्रको मेला महोत्सवभन्दा बिलकुल फरक छ । सबै कुरा पुरानो शैलीलाई अवलम्बन गरिएको छ, जहाँ पुरानो समयको जीवन्त अनुभव गर्न पाइन्छ ।

अन्यत्रका मेला महोत्सवमा जुवाजन्य खेल खेलाइरहँदा यहाँ भने केटाकेटीलाई गोट्टी, बाघचाल खेलाइन्छ । त्यस्तै अरूलाई घुम्ने कुर्सी आदि खेलाइन्छ । अन्यत्र आधुनिक प्रविधिको प्रदर्शनी गरिरहँदा कोप्चेले भने पुराना सकेसम्म मौलिक प्रविधि प्रदर्शनी गर्दै आएको छ । यहाँ पुराना ताला, टुकी, करुवा, ग्रामोफोन, चर्खा, ढुङ्गो, जाँतो, झम्के गुलेलीलगायत पाँच दर्जनभन्दा बढी पुराना प्रविधि प्रदर्शनीमा राखिएको छ, जो युवा तथा वृद्धवृद्धाका लागि निक्कै आकर्षण बनिरहेको पुराना वस्तु सङ्कलक ज्योति श्रेष्ठ बताउनुहुन्छ । “पुरानो पुस्तालाई आफूले प्रयोग गरेको प्रविधि र नयाँ पुस्ताका लागि यो अनौठो भएकाले दुवै पुस्तालाई आकर्षण गरिरहेको छ,” श्रेष्ठ भन्नुहुन्छ ।

पुराना तस्बिरमार्फत करिब ५० वर्षभन्दा पुरानो धनकुटाको अनुभव गर्न पाइन्छ । यी तस्बिरले पुरानो धनकुटाको झल्को दिएको नवीनकिशोर शाक्य बताउनुहुन्छ । “अहिले धनकुटामा धेरै परिवर्तन भएको छ तर हामीले हामी केटाकेटी हुँदाको धनकुटा यो फोटोमार्फत हेर्न पाउँदा यो उत्सवमा केही नयाँ अनुभव गर्न पाएको छौँ,” शाक्य भन्नुहुन्छ । त्यस्तै यहाँ चर्चित कलाकारको साटो स्थानीय कलाकार र स्थानीय भाकालाई साङ्गीतिक कार्यव्रmमका रूपमा प्रयोग गरिँदै आएको छ । खानेकुरामा नेवारी परिकार, आठपहरिया परिकार, सेल रोटी, कोदो तथा फापरबाट बनेका विभिन्न परिकारका साथै गुन्द्रुकसहित पुराना खानेकुराको अनुभव लिन पाइन्छ ।

अहिले मेला महोत्सवका नाममा बढ्दो विकृति रोक्न कोप्चेले नयाँ तरिकाले उत्सव लगाउन सुरु गरेको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यको भनाइ छ ।

“हामी बिर्सिंदै गएका आफ्नै पुरानो जीवनशैली, आफ्नै पहिचानको सम्झनाका लागि यो उत्सव आयोजना गरेको हौँ,” कर्माचार्य भन्नुहुन्छ । यो उत्सवले मेलाहरूको भिडभाड, चिल्ला स्टेज र आधुनिक झिलिमिलीभन्दा फरक अनुभूति दिएको छ । त्यस्तै कोप्चे उत्सव न त महँगा झकझकिला स्टल छन्, न त ठुलो बजेटको प्रचार नै तर यहाँ समुदायको आत्मा, स्थानीयपनको आत्मगौरव र पुराना पुस्ताबाट नयाँ पुस्तासम्म फैलिने सम्झना छन् ।

यहाँ पुरानो जीवनशैलीको मौलिकता तथा स्मृतिको स्पर्श अनुभव गर्न पाइने अवलोकनकर्ताको स्थानीय जेपी भुजेल बताउनुहुन्छ । “नयाँ वर्षमा नयाँपन चलिरहँदा कोप्चेले भने पुरानोपनलाई बिर्सन नहुने सन्देश दिएको छ,” भुजेल भन्नुहुन्छ ।

अन्यत्रका मेला, उत्सव, महोत्सव नाफा र घाटासँग जोडिएको हुन्छ तर कोप्चेवासीलाई यो उत्सव गरेर न आर्थिक फाइदा लिनु छ, न आधुनिक शैलीको तडकभडक देखाउनु छ । तीन वर्षयता प्रत्येक नयाँ वर्ष कोप्चेमा यस्तै पुरानो शैली, शान्त, तडकभडकविहीन उत्सव चल्ने गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button