खबरहेड लाइन

काला हिमालका फेदीमा लेउ

नुप्से हिमाल । तस्बिर सौजन्य : काजी विष्ट

चाँदनी हमाल

काठमाडौँ, वैशाख ३० गते । हिमाल नै हिमाल भएको देश नेपालका हिमाल पछिल्लो समय काला पत्थरमा रूपान्तरण हुने क्रम बढेको छ । कतिपय काला भएका हिमालका फेदीमा लेउ जम्न थालेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा आठ हजार मिटरमाथिका सर्वोच्च शिखर सगरमाथासहित १४ वटा (छ वटा विश्वस्तरमा प्रमाणित हुन बाँकी) हिमाल छन् । विभिन्न हिमशृङ्खलामा लहरै हाँस्ने हिमालहरू अचेल आक्कलझुक्कल हिउँ परेका बेला मात्र मुस्कुराएको अनुभूति हुन्छ ।

सर्वोच्च शिखर सगरमाथानजिक रहेको पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्ट अचेल हिमालमा हिउँ पर्ने दिनहरू कम हुँदै गएको बताउनुहुन्छ । उहाँ विगत बिस वर्षदेखि सगरमाथा आधार शिविर जाने बाटोमा रहेको उक्त प्रयोगशालामा काम गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बिस वर्षअघि हामी यहाँको हिउँमा चिप्लेटी खेल्थ्यौँ, अहिले हिउँ परिहाल्यो भने बाहिर निस्केर नाच्ने र रमाउने मात्र गर्छौं । खेल्ने गरी सगरमाथाको हिमरेखामा हिउँ नपरेको धेरै वर्ष भयो ।” उहाँका अनुसार विगत १५ वर्षयता गत वर्षको बर्सातमा अर्थात् सेप्टेम्बर महिनाको एक दिन ५३ सेन्टिमिटर घनत्वको हिउँ परेको थियो । त्यो पनि बढ्दो गर्मीले चाँडै पगालेर लग्यो ।

चिसो पनि पहिलेको तुलनामा घट्दै गएको छ । बाहिर निस्कन नसकिने ठिही अचेल लाग्दैन । हिउँ परेपछि केहीबेर चिसो हुन्छ । आकाश खुल्दै गएपछि विस्तारै कम हुँदै जान्छ । प्रयोगशाला पाँच हजार ५० मिटरको उचाइमा रहेको छ । पहिले टन्न हिउँ हुने हिमालका फेदी जताततै कालो देखिँदा विरक्त लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

हिमालको हिउँ मात्र होइन, पग्लेर बनेका पोखरी पनि सुक्न थालेका छन् । प्रयोगशालानजिकै पहिले तीन वटा हिउँका पोखरी थिए । अहिले एउटा सुकिसकेको छ । उहाँ थप्नहुन्छ, “अब हिउँको थुप्रो हेर्ने हो भने खुम्बु आइसफल मात्र बाँकी छ, अन्य ठाउँमा धेरै छैन ।” यस्तै हुने हो भने एक दिन हिमाल काला पत्थरको थुप्रो हुने हो कि भन्ने चिन्ता थपिएको उहाँले सुनाउनुभयो । हिमरेखामाथि सर्दै जाँदा सगरमाथा आधार शिविर र काला पत्थर क्षेत्रमा पनि हिउँको घनत्व बिलाउँदै गएको छ ।

हिमालमा सिधा चर्को घाम लाग्ने तर हिउँ कम पर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको उहाँले जानकारी दिनुभयो । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का अनुसार हिमालय पर्वत शृङ्खला नेपालसहित विभिन्न आठ देशहरूमा फैलिएको छ । यो एसियामा तीन हजार पाँच सय किलोमिटरसम्म फैलिएको छ । हिमाल दुई अर्ब मानिसको खाद्यान्न, पानी र ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण स्रोतका रूपमा रही आएको छ । अनगन्ती जैविक विविधता र प्रजातिको वासस्थान पनि हिमाली क्षेत्र मानिएको केन्द्रले जनाएको छ तर पछिल्लो समय जलवायु परिवर्तन र मानवीय कारणले नेपालसहितका उच्च हिमाली क्षेत्र सङ्कटमा परेका छन् ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण भएका परिवर्तनले दुई अर्ब मानिसलाई खतरामा पारेको छ र प्रजातिहरूको लोपलाई तीव्र पारिरहेको छ । इसिमोडको नयाँ अध्ययन अनुसार हिमालयका हिउँ, पानी, यहाँको समुदाय र पारिस्थितिक प्रणालीमा निकै परिवर्तन आएको छ । जलवायु परिवर्तनको उच्च प्रभाव हिमालमा परेकाले त्यसको रोकथाम र न्यूनीकरणका लागि सरोकारवाला निकायलाई अपिल गरिएको छ । अध्ययन अनुसार सन् २०१० को दशकमा अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत हिमनदीहरू छिटो बिलाउँदै गएका छन् । सन् २१०० सम्ममा ८० प्रतिशत हिमनदीहरू विलीन हुने अनुमान गरिएको छ । हिमनदीहरू बिलाउँदा स्वच्छ पानीको उपलब्धता शताब्दीको मध्यमा अभावको चरम सीमामा पुग्ने अनुमान गरिएको छ । जोखिममा परेका हिमाली समुदायले प्रतिकूल प्रभावमा पर्दै जिउधनसँगै हिमाली क्षेत्रका सम्पदा, संस्कृति, पूर्वाधारको क्षति भोग्न थालिसकेका छन् ।

गत वर्ष भदौमा सोलुखुम्बुको खुम्बु गाउँपालिकाको शिरमा रहेको हिमताल फुटेर थामे गाउँ बगाएको घटना हिमालको अत्यधिक हिम गलनको प्रत्यक्ष उदाहरण हो । त्यस स्थानमा रहेका पाँच वटा हिमतालमध्ये एउटा फुटेको थियो । लगातार बढ्दो तापक्रमका कारण हिउँ पग्लने क्रम बढेकाले अन्य चार वटा पनि उच्च जोखिममा परेका छन् ।

खुम्बु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पा गाउँको पीडा पोख्न बारम्बार सिंहदरबार धाउने गर्नु हुन्छ । “हाम्रो पीडा हामीसँगै छ, भत्केका घर बनेका छैनन्, कहाँ बनाउने थाहा छैन, फेरि बाढी आयो भने जनतालाई कहाँ राख्ने त्यो पनि टुङ्गो छैन,” उहाँले गुनासो गर्नुभयो ।

त्यसअघि २०७७ सालमा त्यस्तै हिमताल फुटेर मेलम्चीमा बाढी आउँदा ठुलो जनधनको क्षति भएको थियो । यीबाहेक मनाङ, मुस्ताङमा बढ्दो वर्षा र बाढी, बेमौसमी वर्षा हिमाली क्षेत्रका नयाँ चुनौतीका रूपमा देखिएका छन् । सरकारले आउँदो जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादले नेपालका हिमालमा देखिएका यस्तै चुनौतीको सामना गर्न मार्गदर्शन प्रदान गर्ने सो संवाद कार्यक्रमका सचिवालय सदस्य सचिव डा. महेश्वर ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको हिमाल नेपालको मात्र होइन, विश्व मौसमकै मापक हो र यसको संरक्षणमा सबै जिम्मेवार हुनु पर्छ भन्ने सन्देश हामीले सगरमाथा संवादबाट दिन खोजेका छौँ ।”गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button