खबरहेड लाइन

पानीजहाज धनी नेपाली हुनैपर्ने

फाइल तस्बिर ।

इश्वरचन्द्र झा

काठमाडौँ, जेठ १४ गते । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ ले पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको कम्पनी भए मात्रै आन्तरिक जलमार्गमा सञ्चालन हुन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज दर्तासम्बन्धी दफामा सो व्यवस्था थप गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विधेयक दर्ता गर्दा कुनै व्यक्ति वा संस्थाले पानीजहाज सञ्चालन गर्न चाहे त्यस्तो पानीजहाज सञ्चालन गर्नुअघि पानीजहाजको कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेकोमा समितिले पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको फर्म वा कम्पनी हुनुपर्ने व्यवस्था थप गरेको हो तर पानीजहाजको धनी विदेशी नागरिक भए त्यस्तो पानीजहाज भाडामा लिई सञ्चालनका लागि दर्ता गर्न सकिने प्रस्ट्याइएको छ । समितिले राष्ट्रिय सभाको बैठकमा विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेको छ ।

समितिका सचिव मनोजकुमार गिरीका अनुसार समितिले विधेयकमाथिको छलफल टुङ्ग्याउँदा रेडियो निरीक्षकको योग्यता, काम, कर्तव्य र अधिकार तथा अनुसन्धान अधिकारीको योग्यता थपेको छ । थपिएको व्यवस्थाबमोजिम पानीजहाजको निरीक्षकले संरचनात्मक स्थिति, यान्त्रिक प्रणाली र सुरक्षा उपकरणको नियमित जाँच तथा दुर्घटना भएमा दुर्घटनास्थलको प्रारम्भिक जाँच गरी प्रतिवेदन दिने, मुख्य अधिकृत, नाविक तथा कर्मचारीलाई प्रशिक्षण दिने छन् । त्यसै गरी रेडियो निरीक्षकले पानीजहाजमा जडित रेडियो उपकरणहरूको जाँच वा निरीक्षण गर्ने,

अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन, समुद्रमा जीवनको सुरक्षा र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घका मापदण्डको पालना गराउने छन् । जलमार्गमा पानीजहाज सुरु हुने, रोकिने र गन्तव्य स्थानमा रहने बन्दरगाहको निर्धारण गर्ने र त्यस्ता बन्दरगाहमा आवश्यक पूर्वाधार निर्माण गर्ने व्यवस्थासमेत थपिएको छ ।

करिब सात वर्षअघि नेपालमा पहिलो पटक पानीजहाजको कार्यालय स्थापना भएको थियो । नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन, २०२७, पानीजहाज दर्ता ऐन, २०२७ र नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचना) ले गरेको व्यवस्थाबमोजिम कार्यालय स्थापना भए पनि कानुन अभावमा पानीजहाज सञ्चालन तथा विदेशका पानीजहाजमा कार्यरत नेपाली नागरिकको नाभिक परिचयपत्र नहुँदा समस्या भइरहेको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०८१ ल्याएको हो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button