कृषि र किसानहेड लाइन

सामाजिक जागरणको त्यो ‘हलोक्रान्ति’

नवीनराज कुइँकेल

लमजुङ, साउन ११ गते ।

विपक्ष

शेषकान्त लप्टन, हरिभक्त तिघ्रे

तोयानाथ पण्डित हलो जोती बिग्रे

हलो जोत्ने हुन् तीन जना

अबदेखि खालान् पाथी बाह्र माना ।

पक्ष

ए नानी टपरी भक्त ! तिम्रा पूर्वजहरूको

होइन युग हो यौटा विकास र सुधारको ।

छयहत्तर वर्षअघि लमजुङका ब्राह्मणले हलो जोतेपछि समाजमा यस्तो दोहोरी चल्यो । राणाकालीन त्यो समय, ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता तर त्यही राणाकालीन समयमा नेपालको इतिहासमा ब्राह्मणले हलो जोतेको इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४, (साबिक दुराडाँडा गाविस–६) अर्चल्यानीको बाटेगराले ।

राणाशासन फाल्न राजनीतिक मात्र होइन, सामाजिक जागरण पनि आवश्यक थियो । त्यस्ता सामाजिक जागरण आन्दोलनमध्येको एक थियो, ‘हलोक्रान्ति’, जुन जातीय छुवाछुतविरुद्ध गरिएको थियो । देशमा प्रजातन्त्रको उदय हुनुअघि २००६ साउन ११ गतेकै दिन लमजुङको दुराडाँडा अर्चल्यानीको बाटेगरामा बाहुनहरूले सामूहिक रूपमा हलो जोतेका थिए । यो क्रान्तिको नेतृत्व बडो सुझबुझका साथ पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मुखिया हरिदासले २००४ सालदेखि नै बनाएका रहेछन् तर २००५ फागुनमा हरिदासको मृत्यु भएपछि यो अभियान केही पछि धकेलिएछ ।

अन्ततः ११ साउन २००६ मा शेषकान्त अधिकारीले आफ्नो खेतमा हलोको अनौ समातेर खेत जोतिछाडे । यो सुन्नासाथ चारैतिर ठुलो खलबल भयो । बिस्तारै हलो जोत्ने बाहुनको सङ्ख्या २७ जना पुगेछ । न पर्चा, न जुलुस, न हडताल ! हलो जोत्ने आन्दोलन सामाजिक क्रान्तिका रूपमा फैलन थाल्यो । बाहुनले हलो जोते भनेर कम्पन भयो । २००६ सालको पुसमा तनहुँ, २००७ साल वैशाखमा अर्घाखाँची, गोरखा र २००८ सालमा स्याङ्जामा पनि हलो जोत्ने अभियानले तीव्र रूप लियो । त्यसपछि कास्कीको बाटुलेचौरमा पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा बाहुनकै एक समूहले बारी जोते । गोरखामा पूर्णप्रसाद ब्राह्मणको नेतृत्वमा र धादिङ, केवलपुरमा देवीप्रसाद पौडेल दम्पती (केवलपुरे किसान), गैराघरेका दाजुभाइसहित चार जनाले हलो जोते । हलोक्रान्तिमा सम्मिलित हरिदासका नाति रविकान्त अधिकारीका अनुसार श्रीकान्त अधिकारीले तनहुँमा श्रीभद्र र उमाभद्र खनाल, कास्कीमा मीनबहादुर गुरुङ, अर्घाखाँचीमा काशीनाथ गौतम (पूर्वउपसभामुख पुष्पा भुसालका बुवा) र डडेलधुरामा भीमदत्त पन्तसम्मले छलफल गरी हलोक्रान्ति अभियान सञ्चालन गरेका थिए ।

बाहुनले पहिलो पटक हलो जोतेर क्रान्तिकारी काम गरेका थिए त्यतिबेला । दलित जातिले मात्र हलो जोत्थे त्यो समयमा । जोत्नेलाई दलितकै श्रेणीमा राखिन्थ्यो । समाजमा सबै जाति बराबर हुन् । त्यसैले दलितलाई मात्र काम लगाउने होइन, बाहुनले पनि जोत्न हुन्छ भनेर हलोक्रान्ति सुरु भएको थियो ।

त्यही सम्झनामा स्थानीयवासी बर्सैपिच्छे लमजुङको दुराडाँडा अर्चल्यानीस्थित बाटेगरामा साउन ११ गते हलोक्रान्ति दिवस मनाउँछन् । आइतबार पनि ७६ औँ हलोक्रान्ति दिवस मनाइँदै छ ।

राज्यसत्ताको सिरानमा हुकुमी राणाशासन थियो । तलतिर गाउँ गाउँमा ठालु, शोषक, जिम्मावाल, तालुकदार, तथाकथित पण्डित, पुरोहित राणाशासनका जराका रूपमा थिए । गाउँले प्रायः तिनकै हैकम मान्थे । सरकारले दुराडाँडाका हलो क्रान्तिका ब्राह्मणलाई थुन्ने रणनीति लिएछ । शेषकान्त र तोयानाथलाई गिरफ्तार गरी पोखरा पुर्‍याइएछ । बडाहाकिमले ‘राजद्रोही तिमीहरूलाई बाँकी राख्दिनँ’ भनी तर्साएछन् । तोयानाथले बाहुनले हलो जोत्न हुन्न भनी शास्त्रमा कहीँ उल्लेख छैन भनी प्रतिरक्षा गरेछन् ।

सुरुमा पण्डित तोयानाथले हलो जोत्नु पर्छ भन्ने कुरा निकाल्नुभयो । २००४ सालदेखि नै यो कुरा उठेको थियो । गाउँमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदासलगायतका केही व्यक्तिबिच विशेष सल्लाह हुन थाल्यो । हलो जोते के हुन्छ यसले किसानलाई सजिलो पर्छ । आफूले हलो जोत्न नहुने र हली लगाउन मुस्किल पर्ने कुराको अन्त्य हुन्छ । समयमा खेती गर्न पाउँदा उब्जनीमा वृद्धि हुन्छ । सँगसँगै परम्परा तोडिन्छ, हलचल हुन्छ र नयाँ चेतनाले जन्म लिन्छ भन्ने सल्लाह भयो र हलो जोतियो ।

पण्डित तोयानाथका भान्जा सुन्दरबजार नगरपालिका–३, छहरेपानीका भानुभक्त न्यौपानेका अनुसार पण्डित तोयानाथले जम्मा चार सियो हलो जोत्नुभएको थियो, पहिलो सियो कृषिक्रान्ति, दोस्रो सियो शिक्षा, तेस्रो सियो राजनीति र चौथो सियो समानताका लागि थियो । हलो जोतेको एक वर्षसम्म हल्लाखल्ला मच्चियो । जोत्नेलाई नजोत्नेले विरोध गर्न थाले । उनीहरूलाई उल्याउन त्यतिखेर गीतै बनाए ।

बिहेबारीमा रोक, भातपानी चलाइएन

त्यसबेला हलो जोत्नेलाई भात ठेगियो । माइत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी माइत आउन पाएनन् । उमेर पुगेका युवायुवतीको विवाह रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात ठेगियो । कतिले गएका थिएनौँ भनी ढाँटेर बिहे पनि गरे । समाज अस्तव्यस्त भयो । कैयौँ पण्डित निर्वासित भए भने कैयौँ तल्लो जाति सरह भए । “छोरीलाई तोयानाथले तनहुँ ठुलढुङ्गामा साउनो टपरी गाउँकै आइते सार्कीसँग पठाए,” भानुभक्तले स्मरण गर्नुभयो, “त्यो जातीय विभेदविरुद्ध थियो तर त्यो छोरीको घरमा थाहा पाएपछि छोरीलाई माइती फिर्ता पठाइयो ।”

२००७ फागुन ७ बाट राणाशासन उखेलियो तर हलो क्रान्तिको असर भने २०११/१२ सालसम्म पनि कायमै रह्यो । २०११ सालमा गोरखाको काफलडाँडामा भएको बिहेको जन्तेबाख्रो भोजमा हलो जोत्ने र नजोत्ने बाहुनबिच निकै नोकझोँक चल्यो । त्यहाँ ‘जात राजाको, भात भताहाको’ भन्ने उखान चरितार्थ भएको थियो ।

धादिङको केवलपुरमा पनि त्यस्तै घटना अभिलेख छ । देवीप्रसाद पौडेलको नेतृत्वको हलो काण्डले गाउँमा बिहेबारी नै रोकिएपछि झङ्कप्रसाद बाँस्कोटाले बडाहाकिमलाई नै ल्याएर भोज गराए । बडाहाकिमको रोहवरमा हलो जोत्ने र नजोत्नेलाई एउटै भान्सामा भात खुवाए । त्यसपछि बल्ल सामाजिक विधि व्यवहार पुनः थालनी भयो ।

दुराडाँडाका पण्डित शिवराज भट्ट भन्नुहुन्छ, “सबै समान हुन् भन्ने कुराको जागरण फैलाउन हलोक्रान्तिले मद्दत गर्‍यो । हलो जोतेर तोयानाथले सबैलाई फुकुवा त गर्नुभयो तर जग्गा बाँझा छन् । मान्छे सबै सहरतर्फ लोभिए । गाउँघर रित्तिँदै छन् ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button