खेलकुद

प्रथम आर.एल.जि.सि अन्तर–मण्डली फुटसल प्रतियोगिताको उपाधि सियोन रोफेका मण्डली नालालाई

नाला, काभ्रे । प्रथम आर.एल.जि.सि (रोफेका जीवन दिने मण्डली) अन्तर–मण्डली फुटसल प्रतियोगिताको उपाधि सियोन रोफेका मण्डली, नालाले जितेको छ । मंगलवार नालास्थित प्लेयर्स फुटसल ग्राउण्डमा सम्पन्न फाइनल खेलमा सियोन रोफेका मण्डलीले आर.एल.जि.सि मण्डली, बनेपालाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै विजेता बनेको हो । निर्धारित समयमा दुवै टोलीबीच गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

विजेता टोलीले ट्रफि, मेडल, प्रमाण पत्र सहित १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रमुख अतिथि बनेपा नगरपालिका–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले पुरस्कार वितरण गर्नुभयो । त्यस्तै उपविजेता टोलीलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित १० हजार रुपैयाँ नगद बिशिष्ट अतिथि एन।जी।सि।एफ मण्डलीका रेभ। पाष्टर तथा नगर ख्रीष्टियन समुदायका महासचिव रामचन्द्र बिशुन्केले प्रदान गर्नुभयो ।

सियोन रोफेका मण्डली, नालाका अमिर रम्तेल उत्कृष्ट गोल रक्षक घोषित हुनुभयो । उत्कृष्ट खेलाडी आर.एल.जि.सि मण्डली, बनेपाका किसन तोलाङ्गे बन्नुभयो भने सर्वाधिक गोलकर्ताको उपाधि रोफेका जीवन दिने मण्डली, जनागालका आकाश बिशुन्केलाई प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा महिमा सियोन मण्डली तथा रोफेका छोरी मण्डली सञ्जालका अध्यक्ष रेभ. पाष्टर राजन परियारले सहभागी टोलीलाई प्रमाणपत्र तथा प्रायोजकलाई मायाको चिनो वितरण गर्नुभयो ।

प्रतियोगिता रोफेका जीवन दिने ए.जी.मण्डली, जनागालको आयोजनामा सम्पन्न भएको हो । काभ्रे र भक्तपुरका विभिन्न ११ मण्डलीबाट १३ टोली सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button