मूल खबर

आज खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । आज (आइतबार) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्दै छ । आज लाग्ने ग्रहण नेपाललगायत एसियाका अधिकांश भूभागका साथै अष्ट्रेलिया एवं अफ्रिकाबाट पनि देख्न सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो चन्द्रग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्रग्रहण हो । काठमाडौंमा राति १०ः११ बाट स्पर्श हुने खग्रास चन्द्रग्रहण रातिकै ११ः१५ सम्मीलन, ११ः५६ बजे मध्य, १२.३८ बजे उन्मिलन अनि राति १ः४१ बजे मोक्ष हुनेछ । यसरी समग्रमा तीन घण्टा ३० मिनेटको खग्रास चन्द्रग्रहण आकाशमा देख्न सकिन्छ ।

यो ग्रहण एसिया, युरोप, अफ्रिका, अष्ट्रेलियाबाट देख्न सकिनेछ । ग्रहणको कम्तीमा केही भाग देख्ने क्षेत्रहरूः युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकामा पश्चिम, दक्षिण अमेरिकामा पूर्व, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर, आर्कटिक, अन्टार्कटिका हुन् । यो ग्रहण पूर्वी अफ्रिका, एसिया र अष्ट्रेलियामा पूर्णरूपमा देखिनेछ । यसैगरी, यो ग्रहण अफ्रिका र युरोपका अधिकांश भागमा उदाउँदा देख्न सकिन्छ भने मध्य प्रशान्त महासागरमा अस्ताउँदा देख्न सकिन्छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रका दिन कुम्भ राशिमा ग्रहण लाग्ने ज्यो. पं. नारायण भण्डारीले जानकारी दिनुभयो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु नहुने मान्यता रहेको बताइन्छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button