
काठमाडौँ, असोज २० गते । महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपाल आइतबार मलेसियासँग १३ रनले पराजित भएको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा घरेलु टिम मलेसिया २–१ ले अगाडि भएको छ ।
पहिलो खेलमा घरेलु टिम मलेसियाले नेपाललाई तीन रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा छ विकेटले जित प्राप्त गरेपछि शृङ्खला १–१ ले बराबरीको स्थितिमा आएको थियो । अब नेपालले शृङ्खला जित्न मङ्गलबार हुने चौथो र बुधबार हुने पाँचौँ खेल जित्न आवश्यक भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको तेस्रो खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालले जवाफमा आठ विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । नेपालका लागि प्रारम्भिक ब्याटर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाउनुभयो । रुबीले पहिलो विकेटका लागि सम्झना खड्कासँग ४१ रनको साझेदारी गर्नुभएको थियो । सम्झना १८ रन बनाएर आउट हुनुभयो । सो पालिमा सम्झनासहित छ ब्याटर रनआउट हुनु नेपालको हारको प्रमुख कारण बन्यो । रुबी पनि रनआउट हुनुभएको थियो । यसै गरी कविता कुँवर (१५ रन), कविता जोशी (छ रन), यशोधा विष्ट (सात रन) र सुमन विस्ट (तीन रन) पनि रन लिने चक्करमा पवेलियन फर्कनुभयो । पूजा महतो (दुई रन) र रुविना क्षेत्री (०) ले ब्याटबाट योगदान दिन सक्नुभएन । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहनुभयो । मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसा फिरदोजले विकेट लिनुभयो ।
यसअघि मलेसियाका लागि प्रारम्भिक ब्याटर आइना हमिजा हासिमले सर्वाधिक ६१ रन बनाउनुभएको थियो । उहाँले ५८ बलको सामना गर्दै पाँच चौका प्रहार गर्नुभयो । मास एलिसाले ३० रनको योगदान दिनुभयो । नेपालकी कविता जोशी र कविता कुँवरले दुई/दुई विकेट लिनुभयो । सो खेलमा आइना प्लेअर अफ दी म्याच बन्नुभयो । उहाँले चार ओभरमा २१ रन दिएर सटिक बलिङ पनि गर्नुभएको थियो ।
गोरखापत्र अनलाइन