कृषि र किसानमूल खबर

उखु जलेपछि राहत खोज्दै किसान

सर्लाही, पुस ७ गते । बिक्री गर्ने बेला भएको उखु जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् । गत सोमबार फैलिएको आगलागीका कारण करिब ५० बिघामा लगाएको उखु जलेको थियो । आगलागीबाट जलेको उखु खेतीको निरीक्षण गर्न अहिले मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेतालाई भ्याइनभ्याइ छ ।

जलेको उखु खेतीको निरीक्षण गर्न आउनेसँग किसानले राहतको माग गरेका हुन् । उखु किसान एवं गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले थोरै मूल्य घटाएर भए पनि जलेको उखु किनिदिन चिनी मिलसँग निरन्तर आग्रह गरिरहेको बताउनुभयो ।

आगलागीबाट जले पनि उखुमा अझै चिनीको केही मात्रा बाँकी रहेकाले बरु कम मूल्य दिएर भए पनि उखु किनिदिन इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहलाई अनुरोध गरिरहेको उखु किसान यादवले बताउनुभयो । इन्दुशङ्कर चिनी उद्योगले रोहुवा क्षेत्र महालक्ष्मी चिनी उद्योगको गेटभित्र पर्ने भएकाले सोही उद्योगसँग सम्पर्क राख्न किसानसँग आग्रह गरेको छ ।

यस वर्षका लागि उखु क्रसिङ सुरु गर्न धमाधम चलान (उखु ल्याउने अनुमतिपत्र) बाँडिरहेको महालक्ष्मीलाई आगलागीबाट जलेको उखुको मूल्याङ्कन गरी किनिदिन अनुरोध गरिरहेको नगरप्रमुख यादवको भनाइ छ । उहाँले अब यही पुसमा हुने विशेष नगर सभाबाट पीडित किसानलाई केही राहत प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार आगलागी भएको उखु खेतीको निरीक्षण गर्दै चिनी मिलले पीडित किसानलाई केही रकम दिएर उखु खरिद गरिदिए सङ्घीय सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यमा बाँकी हुने पैसा प्रदेश सरकारबाट प्रदान गर्ने आश्वासन दिनुभएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री जङ्गीलाल राय, प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह, फकिरा महतोसहितलाई लिएर आगलागी भएको उखु खेतीको निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री यादवले पीडित किसानलाई मार पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ठुलो क्षेत्रफलको उखु खेतीमा आगलागी हुनुको कारण अझै प्रस्ट हुन सकेको छैन । सुरुमा बिजुलीको तारबाट करेन्ट सर्ट भएर आगलागी भएको आशङ्का गरिएको थियो तर नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले घटनास्थलमा रहेको विद्युतीय संरचनाको प्राविधिक विश्लेषण, घटनाको प्रकृति तथा स्थानीय प्रत्यक्षदर्शीको भनाइ विश्लेषण गर्दा विद्युत्को तार सर्ट नभएको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले आगलागीको वास्तविक विवरण सङ्कलन गर्नै बाँकी रहेको बताउनुभएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button