खबरहेड लाइन

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग

बनिसके विशेष प्रकृतिका तेह्र पुल

मकवानपुरस्थित लेनडाँडा–महादेवटार सुरुङमार्ग जोड्ने पुल ।

भउचप्रसाद यादव

काठमाडौँ, माघ १३ गते । मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई/मधेश द्रुतमार्ग अन्तर्गत अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन् । अहिलेसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिका ती पुलको निर्माण सम्पन्न भएको हो । सो आयोजनाको मकवानपुरस्थित लेनडाँडा क्षेत्रमा ८२ मिटर अग्लो पुल निर्माण सम्पन्न भएको हो । आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने गरी डिजाइन गरिएको छ । कुल लम्बाइ ७०.९७ किलोमिटर रहेको यस आयोजनाको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेका छन् ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले यस आयोजना अन्तर्गत कुल ८९ वटा पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म ८५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको बताउनुभयो । सम्झौता भएकामध्ये १३ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै बस्नेतले द्रुतमार्ग अन्तर्गत पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर रहेको बताउनुभयो । यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण गर्नुपर्ने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन । उहाँले भन्नुभयो, “निर्माणाधीन पुलमध्ये ५४ स्थानका पुलको जग हाल्ने (फाउन्डेसन) काम र ३४ स्थानका पुलको ‘सब स्ट्रक्चर’ सम्पन्न भइसकेको छ ।”

त्यसै गरी यस आयोजना अन्तर्गत सडक कालोपत्र गर्ने काम सुरु भइसकेको बताउँदै सैनिक प्रवक्ता बस्नेतले पाँच किलोमिटर ‘सर्भिस लेन’ को कालोपत्र सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ११ किलोमिटर सडकको ‘सब बेस’ काम पूरा भइसकेको छ । दु्रतमार्गको निजगढ क्षेत्रमा जनावर हिँड्ने बाटो (एनिमल अन्डरपास) को मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । सो क्षेत्रमा ‘टोल प्लाजा‘ र ‘इन्टरचेन्ज’ निर्माण भइरहेको छ । यस आयोजनाको बुदुने भन्ने ठाउँमा दुई वटा विश्राम स्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गर्ने गरी डिजाइन गरिएको छ ।

दुई वटा सुरुङ छिचोलियो

सैनिक प्रवक्ता बस्नेतका अनुसार द्रुतमार्गमा निर्माणाधीन सात वटा सुरुङमध्ये दुई वटा छिचोलिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार लेनडाँडाको एक किलोमिटर ६२२ मिटर र धेद्रेको एक किलोमिटर ६९० मिटरको सुरुङ छिचोलिएको हो । छिचोलिएको दुवै सुरुङमा भित्तो प्लास्टरको काम भइरहेको छ । यस आयोजना अन्तर्गत सात वटा सुरुङ निर्माण भइरहेका छन्, जसको कुल लम्बाइ १०.९७९ किलोमिटर छ ।

त्यसै गरी महादेवटार सुरुङको ६९ प्रतिशतभन्दा बढी काम सकिएको छ । यस सुरुङको कुल लम्बाइ तीन किलोमिटर ३५५ मिटर छ । यस सुरुङमार्गको दायाँतर्फको दुई किलोमिटर ११९ मिटर र बायाँतर्फ दुई किलोमिटर पाँच सय मिटर सुरुङ खनिसकिएको छ । त्यसै गरी चन्द्रामभिर सुरुङको बायाँतर्फ ३७५ र दायाँतर्फ २८७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यस सुरुङमार्गको कुल लम्बाइ दुई हजार २५० मिटर छ । त्यसै गरी कुल एक किलोमिटर लम्बाइ रहेको देवीचौर र कुल ३९० मिटर लम्बाइ रहेको सिसौटार सुरुङ खन्न सुरु गरिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । मौरीभिर सुरुङ खन्न पोर्टल तयारीको काम भइरहेको छ । यस सुरुङको कुल लम्बाइ ५९४ मिटर छ ।

११ खण्डमा निर्माण भइरहेको यस आयोजनाको पुस मसान्तसम्मको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ । ११ खण्डमध्ये खोकना–डुकुछाप (प्याकेज नं. ११) मा जग्गा विवादका कारण सो खण्डको ६.५ किलोमिटरमा अहिलेसम्म काम सुरु हुन सकेको छैन । अन्य खण्डमा बिनाअवरोध काम भइरहेको छ ।

यस वर्ष पुस मसान्तसम्म सो आयोजना अन्तर्गत कुल ८२ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सोमध्ये एक अर्ब ६५ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेस्की दिइएको छ । आयोजनाको प्रारम्भिक लागत एक खर्ब ७५ अर्ब रुपियाँ रहेकामा अहिले दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको हो ।

वार्षिक २५ अर्ब बचत

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मुलुककै रणनीतिक महत्वको द्रुतमार्ग निर्माण भएर सञ्चालनमा आएपछि सो मार्गमा दैनिक पाँच हजारभन्दा बढी सवारीसाधन गुड्ने छन् । त्यसै गरी इन्धनबाट मात्र वार्षिक १० अर्ब र सवारी मर्मतमा करिब १५ अर्ब रुपियाँ बचत हुने बताइएको छ । मुलुकको पूर्वाधार विकासको पहिलो प्राथमिकतामा रहेको यो आयोजना पहाडलाई तराई/मधेशसँग जोड्ने महìवपूर्ण मार्ग हो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button