मूल खबर

पश्चिम एसिया युद्ध ट्रम्प–साने भेट अर्थपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइची ।

काठमाडौँ, चैत ६ गते । पश्चिम एसियामा चर्किएको युद्ध र रणनीतिक स्ट्रेट अफ हर्मुजको सुरक्षालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबबिच जापानका प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

यसअघि सामान्य द्विपक्षीय समन्वय र सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको भेट इरानसँगको युद्ध र त्यसले सिर्जना गरेको सुरक्षा सङ्कटका कारण जटिल बनेको अमेरिकी समाचार संस्था एपीले जनाएको हो । ट्रम्पले जापानसहित आफ्ना सहयोगी राष्ट्रले हर्मुज जलमार्गको सुरक्षामा अपेक्षित सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आउनुभएको छ । जापानले अमेरिकी–इजरायली सैन्य अभियानमा आफ्ना युद्धपोत पठाउने प्रस्ताव अस्वीकार गरिसकेको छ । यसले दुई देशबिचको सुरक्षा समन्वयमा तनाव बढाएको छ । एसिया समूहका अध्यक्ष तथा पूर्वअमेरिकी कूटनीतिज्ञ कर्ट क्याम्पबेलका अनुसार ट्रम्पले सानेमाथि उच्चस्तरको दबाब दिने सम्भावना रहेको छ र यस्तो संवेदनशील भेट दुर्लभ मानिन्छ ।

सानेले जापानलाई पश्चिम एसियामा अमेरिकी योजनाको साझेदारका रूपमा प्रस्तुत गर्ने सन्तुलित उपाय खोज्ने प्रयास गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धपछिको संविधानले जापानलाई आफ्नो भूभागको रक्षाबाहेक सैन्य शक्ति प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसका कारण जापानको सेना ‘आत्मरक्षा बल’ का रूपमा सीमित छ । यद्यपि विश्लेषकका अनुसार जापानले समुद्री माइन हटाउने कार्य वा सीमित नौसैनिक उपस्थिति जस्ता सहयोग गर्न सक्ने सम्भावना भने रहन्छ तर अमेरिकी सैन्य अभियानमा प्रत्यक्ष संलग्न हुन ‘सामूहिक आत्मरक्षा’ को प्रावधान सक्रिय गर्नुपर्ने हुन्छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button