मूल खबर

अठार जनाले मातृभाषामा शपथ लिने

काठमाडौँ, चैत १० गते । प्रतिनिधि सभाका नवनिर्वाचित २७५ मध्ये १८ जना सदस्यले मातृभाषामा शपथ लिने सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन् । सोमबार बेलुकी ५ बजेसम्म १८ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराउँदै शपथको बेहोरा अनुवाद गरी सचिवालयमा बुझाएका छन् ।

सचिवालयका प्रवक्ता एकराम गिरीले मातृभाषामा शपथ लिने सम्बन्धमा नवनिर्वाचित सदस्यले सोमबार मध्यरातिसम्म जानकारी गराउने समयसीमा रहेकामा सो सङ्ख्या बढ्न सक्ने बताउनुभयो । प्रवक्ता गिरीले भन्नुभयो, “सोमबार बेलुकी ५ बजेसम्म प्रतिनिधि सभाका नवनिर्वाचितमध्ये १८ सदस्यबाट मैथिली, बज्जिका, थारू, रानाथारू तथा नेपाल भाषामा शपथ लिने जानकारी गराइएको छ ।”

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (२) मा कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति प्रतिनिधि सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु तीन दिनअगावै सङ्घीय संसद् सचिवालयलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

ऐनको सो व्यवस्थाबमोजिम सचिवालयले सूचना प्रकाशन गरी मातृभाषामा शपथ लिन चाहने सदस्यले चैत ९ गतेभित्र जानकारी गराउन आग्रह ग¥यो । नेपाली मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको बेहोरा सम्बन्धित भाषामा आफैँ अनुवाद गरी सो अनुवादको प्रति सचिवालयको सुविधा व्यवस्थापन शाखामा बुझाएका छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button