खबर

साँवा तथा ब्याजको भुक्तानी लिन आह्वान

काठमाडौँ, चैत १७ गते । बचतपत्रको साँवा तथा ब्याज रकम नलिएको पाइएपछि नेपाल राष्ट्र बैङ्कले छिटो भुक्तानी लिन आह्वान गरेको छ। राष्ट्र बैङ्क अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीलाई रकम लिन आग्रह गरेको हो ।

“नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैङ्कमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र भुक्तानी लिन यस विभागमा सम्पर्क गर्नुहुन सम्बन्धित सबै बचतपत्रधनीलाई अनुरोध छ,” राष्ट्र बैङ्कले जारी गरेको सूचनामा भनिएको छ । परिपक्व भएको रकम लामो समयसम्म दाबी नगरी राखिनु उपयुक्त नहुने भन्दै राष्ट्र बैङ्कले सम्बन्धित बचतपत्रधनीलाई छिटोभन्दा छिटो सम्पर्क गरी आफ्नो रकम बुझ्न आग्रह गरेको हो । मौद्रिक व्यवस्थापन विभागले सम्बन्धित बचतपत्रधनी वा उनीहरूका प्रतिनिधिलाई आवश्यक कागजातसहित सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारका तर्फबाट सर्वसाधारण तथा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै जारी गरिने सरकारी ऋण उपकरण हुन् । सरकारले आन्तरिक स्रोत परिचालन गर्दै विकासका कार्यक्रम सञ्चालन गर्न यस्ता बचतपत्र जारी गर्दै आएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button