मूल खबरहेड लाइन

काँकरभिट्टाबाट डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

२० हजार अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सामग्रीसहित कोलकाताका परम पाठक नियन्त्रणमा

मेचीनगर ।झापाको पूर्वी नाका काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ सिटी सफारीमार्फत आउँदै गरेका पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटमा शंका लागेपछि गरिएको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको नेतृत्वमा खटिएको टोली तथा मेची भन्सार कार्यालयका कर्मचारीसहितको संयुक्त अपरेशनमार्फत उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पाठकको साथबाट ५७० ग्राम सुन बरामद गरिएको छ, जसको अनुमानित मूल्य १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ रहेको छ। साथै उनीसँग रहेको २० हजार अमेरिकी डलरको नेपाली मूल्य करिब ३० लाख ६५ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

यसका अतिरिक्त ८५ हजार ४१० भारतीय रुपैयाँ, ड्राइभिङ लाइसेन्स, आधार कार्ड, दुई थान मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाठकलाई बरामद गरिएका सम्पूर्ण सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button