खेलकुदहेड लाइन

जर्मनी र नेदरल्यान्ड्स विश्वकपबाट बिदा

फक्सब्रो (अमेरिका), असार १७ गते । चार पटकको विजेता जर्मनी मङ्गलबार पाराग्वेसँग सडनडेथमा पराजित भएर विश्वकप फुटबल २०२६ को अन्तिम ३२ बाट बिदा भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ ले बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमा भएको हो । पेनाल्टी सुटआउटमा दुवै टिमले ३–३ गोल गरेका थिए ।

जर्मनी बाहिरिनु यस विश्वकपको पहिलो ठुलो स्तब्धकारी नतिजा भएको छ । फिफा वरीयता ४१ औँ स्थानमा रहेर र जर्मनी १० औँ स्थानमा रहेर विश्वकप खेल्न आएका हुन् । विश्वकपमा जर्मनी टाइब्रेकरमा पराजित भएको यो पहिलो पटक हो । सन् १९७६ मा भएको युरो च्याम्पियन्सिपको फाइनलमा चेकोस्लोभााकियोसँग हारेपछि जर्मनीले प्रमुख प्रतियोगिगतामा टाइब्रकेरमा हार बेहोरेको थिएन ।

पाराग्वेका जोस कानालेका लागि यो खेल अविस्मरणीय रह्यो । यसअघिका दुई खेलमा पहिलो रोजाइमा समेत नपरेका कानालले जर्मनीविरुद्ध सुरुवाती ११ मै खेल्नुभएको थियो । कानालेले सडनडेथको पहिलो पेनाल्टीमा गोल गरेपछि पाराग्वे अन्तिम १६ मा पुग्यो । टाइब्रेकरमा पाराग्वेका गोलरक्षक ओरलान्डो गिल र जर्मनीका गोलरक्षक म्यानुअल नुअरले दुई/दुई प्रहार रोक्नुभएको थियो ।

दक्षिण अमेरिकाको मात्र ७० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित राष्ट्र पाराग्वेका लागि यो ठुलो जित भएको छ । पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजय बेहोरेपछि पाराग्वेले निरन्तर राम्रो खेल्दै आएको छ । सन् २०१४ मा च्याम्पियन बनेपछि जर्मनी विश्वकपमा सधैँ सङ्घर्षरत नै बनेको थियो । पछिल्ला दुई संस्करणमा त जर्मनीले समूह चरण पनि पार गर्न सकेको थिएन । विश्वकप जितेपछि पहिलो पटक नकआउटमा पुगेको जर्मनी यसपपालि अन्तिम ३२ मै पराजित भएको छ ।

जर्मनीले छमध्ये तीन पेनाल्टी खेर फाल्यो । सडन डेथमा जोनाथन ताहले गोलपोस्टमाथि बल प्रहार गरेपछि कानालेले निर्णायक गोल गर्ने अवसर पाउनुभएको हो । यसअघि गोलरक्षक नुअरले फाबिया बालबुएनाको पेनाल्टी प्रहार रोकेर खेललाई सडनडेथमा पु¥याउनुभएको थियो । टाइब्रेकरमा जर्मनीका काई हाभर्ट्ज, वोल्टमाडेको प्रहार पाराग्वेका गोलरक्षकले रोक्नुभएको थियो ।

ताहसमक्ष खेलको १०२ औँ मिनेटमा पनि जर्मनीलाई खेल जिताउने अवसर आएको थियो । नाथनियल ब्राउनको कर्नर प्रहारमा ताहले हेड गोल पनि गर्नुभयो तर भारमा सो हेडरअघि वाल्डमर एन्टनले गोलरक्षक गिललाई धकेलेको देखिएपछि जर्मनीलाई गोल प्राप्त भएन ।

यसअघि पाराग्वेले नै अग्रता बनाएको थियो । खेलको ४२ औँ मिनेटमा एउटा राम्रो मुभमा माटियास गालाराजाको क्रसमा जुलियो इन्सिसोले हेड गोल गरी पाराग्वेलाई अगाडि पार्नुभएको थियो । उत्तरार्धको सातौँ मिनेटमै फ्लोरियन रिजको क्रसमा काई हाभर्ट्जले हेड गोल नै गरेर खेल बराबरीको स्थितिमा ल्याउनुभयो । पाराग्वेले विश्वकपको नकआउटमा गोल गरेकै यो पहिलो पटक हो । यसअघि पाँच पटक नकआउटमा पुगेपछि पाराग्वेले गोल गर्न सकेको थिएन । पाराग्वे एक पटक विश्वकपको क्वाटरफाइनलमा पनि पुगेको छ । सो समय अन्तिम १६ मा जाापानविरुद्धको खेल गोलरहित बनेपछि पाराग्वेले टाइब्रेकरमै खेल जितेको थियो ।

मोरक्को प्रिक्वाटरफाइनलमा

इस्माइल साइबारीले निर्णायक पेनाल्टीमा गोल गरेपछि विश्वकप फुटबल २०२६ मा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ ले बराबरीमा सकिएको थियो । मोरोक्कोले अब क्वाटरफाइनलमा पुग्न शनिबार ह्युस्टनमा सहआयोजक क्यानडाविरुद्ध खेल्ने छ ।

पेनाल्टीमा चार राउन्डपछि स्कोर २–२ ले बराबर थियो । क्राइसेन्सियो समरभिलेले प्रहार गरेको नेदरल्यान्ड्सको पाँचौँ पेनाल्टी मोरोक्कोको गोलरक्षक यासिन बोउनोउले विफल पार्नुभयो । त्यसपछि साइबारीले निर्णायक पेनाल्टीमा गोल गरी उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्सलाई घर फर्काउनुभयो । पछिल्लो संस्करणमा मोरोक्कोले सेमिफाइनल र नेदरल्यान्ड्सले क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । पछिल्ला ११ संस्करणदेखि नेदरल्यान्ड्सले लगातार नकआउट चरण खेलेको छ ।

फिफा वरीयतामा छैटौँ मोरोक्को र सातौँ स्थानमा रहेको नेदरल्यान्ड्सबिचको खेल निकै रोमाञ्चक रह्यो । खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोको गोलबाट नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । समरभिल्लेको एसिस्टमा गाक्पोले गर्नुभएको हो । २७ वर्षीय गाक्पो गोल गरेपछि मैदानमै रुनुभएको थियो । केही दिनअघि मात्र गाक्पो र उहाँकी पार्टनर नोआ भान डार बिजले गर्भावस्थामै बच्चा गुमाएको थियो। त्यसैले पनि गाक्पो गोल गरेपछि निकै भावुक बन्नुभएको हो ।

यद्यपि गाक्पोको गोलले नेदरल्यान्ड्सलाई जित दिलाउन सकेन । नेदरल्यान्ड्स जिततर्फ अग्रसर भइरहेका बेला मोरक्कोको इसा डियोपले गोल गरी खेललाई अतिरिक्त समयमा लग्नुभयो । चेम्सडिन ताल्बीको क्रसमा डियोपले सानदार ढङ्गले हेड गरी बललाई गोलपोस्टमा छिराउनुभएको हो । एपी

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button