
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसाल्नुहुन्दै ।
काठमाडौँ, असोज २३ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसाल्नुभएको छ ।
मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर शुक्रबार बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो ।
उहाँले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने बताउनुभयो । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताउनुभयो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको जानकारी दिनुभयो । उहाँले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको बताउनुभयो । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको थियो ।
गोरखापत्र अनलाइन



