
सरोज ढुङ्गेल
नेपालमा सन् १९८१ मा अन्धोपन ०.८४ प्रतिशत रहेकामा सन् २०२२ को दृष्टि अवस्थासम्बन्धी सर्वेक्षणमा घटेर ०.२८ प्रतिशतमा पुगेको छ ।
काठमाडौँ, असोज २४ गते । नेपालमा अन्धोपनको दर उल्लेख्य रूपमा घट्दै गएको छ तर आँखासम्बन्धी रोगको स्वरूप परिवर्तन हुँदै जाँदा उपचार सेवाको विस्तारले मात्र दृष्टि जोगाउन नसकिने अवस्था देखिएको छ ।
नेत्र स्वास्थ्यका क्षेत्रमा संलग्न विज्ञले आँखाको समस्या जटिल बनेपछि अस्पताल पुग्ने प्रवृत्तिको अन्त्य गर्दै नियमित परीक्षण, समयमै पहिचान र रोग लाग्नै नदिने उपायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । नेपालमा सन् १९८१ मा अन्धोपन ०.८४ प्रतिशत रहेकामा सन् २०२२ को दृष्टि अवस्थासम्बन्धी सर्वेक्षणमा घटेर ०.२८ प्रतिशतमा पुगेको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ जनशक्ति तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले अन्धोपन न्यूनीकरणमा उल्लेख्य योगदान पुगेको नेपाल नेत्रज्योति सङ्घले जानकारी दिएको छ ।
ग्लुकोमा आँखाको पर्दासम्बन्धी समस्या, मधुमेहका कारण हुने दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोष बढ्दै गएका छन् । बढ्दो औसत आयु, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको अत्यधिक प्रयोगले समेत आँखाको स्वास्थ्यमा थप जोखिम सिर्जना गरेको छ । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले दृष्टि जोगाउने विषयलाई अस्पताल पुगेपछि गरिने उपचारमा मात्र सीमित गर्न नहुने बताउनुभयो । उहाँले आँखामा समस्या देखिएपछि मात्र उपचार खोज्ने प्रवृत्तिभन्दा नियमित परीक्षण र सुरुवाती अवस्थामै रोग पहिचान गर्ने प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सङ्घका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखाको स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहसँग जोडेर लैजानुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमै प्रारम्भिक परीक्षण, आवश्यकता अनुसार विशेषज्ञ सेवामा पठाउने व्यवस्था तथा जोखिममा रहेका समूहको नियमित परीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, मधुमेह भएका व्यक्ति तथा आँखासम्बन्धी जोखिममा रहेका व्यक्तिको नियमित परीक्षण अझ महत्वपूर्ण हुन्छ ।
नेपालमा आँखा उपचार सेवाको पहुँच विस्तारमा नेपाल नेत्रज्योति सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सङ्घ स्थापना भएको सन् १९७८ मा सीमित पूर्वाधार र जनशक्तिबाट सुरु भएको आँखा सेवा अहिले देशका विभिन्न भूगोलमा विस्तार भएको छ । डा. मिश्रले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाले आँखा उपचार सेवा लिइसकेको जानकारी दिँदै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । हाल सङ्घ अन्तर्गत २८ आँखा अस्पताल र ४४ जिल्ला शाखामार्फत २२६ उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।गोरखापत्र दैनिकमा खबर छ ।



