मूल खबरहेड लाइन

घरपालुवा कुकुरका लागि ‘डग होस्टेल’

सनम महर्जन

काठमाडौँ, असोज ३१ गते । दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मनाउन नयाँ उत्साह र उमङ्ग बोकेर धेरै जना घर फर्किरहेका छन् तर काठमाडौँमा कुकुर पालेर बसेकाहरू दसैँ मनाउन घर जाँदा कुकुर कहाँ राख्ने भनी अन्योलमा छन् ।

काठमाडौँमा ‘डग होस्टेल’ अर्थात् घरपालुवा कुकुरका लागि अस्थायी घर । घरपालुवा जनावरका लागि परिवार वा मालिकको अनुपस्थितिमा हेरचाहसँगै दैनिक बसोबास मिल्ने घर हो ‘डग होस्टेल’ । जहाँ कुकुरका खाना, हेरचाह, सरसफाई र दैनिक निगरानीमा राखिने व्यवस्था छ ।

माया र जिम्मेवारी

‘पज प्लेज एन्ड स्टे’ का सञ्चालक सन्दीप जोशी कुकुरलाई पनि मानिसका बच्चालाई जस्तै माया र स्नेह आवश्यक हुने बताउनुहुन्छ । उहाँका अनुसार बिरामी हुँदा नियमित उपचार गराउनु, नियमित खाना दिनु, सुरक्षित वातावरण बनाउनु र परिवारको अनुपस्थितिमा माया र हेरचाह गर्नु महत्वपूर्ण जिम्मेवारी हो । घरपालुवा जनावरप्रतिको माया केवल उनीहरूसँग तस्बिर र मनोरञ्जनका लागि भिडियो बनाउनु नरहेको जोशी बताउनुहुन्छ । “करिब ४३ वर्षअघि कुकुरलाई सुरक्षा दिने एक पालेका रूपमा राख्ने चलन थियो तर अहिले त्यो अवस्था रहेन । विदेशतिर जस्तै नेपालमा पनि कुकुरलाई ‘कम्पेनियन एनिमल’ भन्ने गरिन्छ । परिवार, साथी र भाइका रूपमा लिने गरिन्छ । उनलाई पनि मानिससरह स्वास्थ्य सुविधा, माया र स्नेह आवश्यक पर्छ,” उहाँ भन्नुहुन्छ ।

बदलिँदो जीवनको आवश्यकता

काठमाडौँको व्यस्त जीवनशैलीमा घरपालुवा जनावर केवल मानिसका साथी मात्र नभएर परिवारका महत्वपूर्ण सदस्य पनि हुन् । उनीहरूको विशेष हेरचाहका लागि उपचार, प्रशिक्षण, ग्रुमिङ र अस्थायी बसोबासका लागि ‘डग होस्टेल’ ले सेवा प्रदान गर्ने गर्छ । यात्रा गर्दा आफूले माया गरेको वा परिवारको सदस्य सुरक्षित छ भन्ने ढुक्क हुँदा यात्रा पनि बढ्छ ।

‘डग होस्टेल’ मा कुकुरलाई हरेक समय बाँध्ने, यातना दिने गरिँदैन । दुई रोपनी जग्गामा बनेको ‘पज प्लेज एन्ड स्टे’ मा कुकुरका लागि खेल्न रमाउन पर्याप्त ठाउँ छ । कोठामा पनि एयर कन्डिसनरको व्यवस्था छ । “कुकुरको कोठामा हामी आफैँ पनि बस्न र सुत्न सकिने बनाइएको छ । खाटको तन्ना हरेक दिन फेरिन्छ,” जोशी भन्नुहुन्छ । उहाँका अनुसार दसैँबाहेक पनि घरका सबै सदस्य नभएको अवस्थामा ‘डग होस्टेल’ सम्झिने गर्छन् ।

‘डग होस्टेल’ प्रायः सबैका लागि नौलो र थाहा नहुने जोशीको अनुभव छ । उहाँको ‘डग होस्टेल’ मा १२ वटा कुकुर राख्ने क्षमताको छ । औषधी उपचारदेखि सबै सेवा फरक र प्रिमियम छ । बोर्डिङको बनावट विशेष गरी कुकुरको साइज अनुसार हुने उहाँको भनाइ छ । सानो, मध्यम र ठुलोमा आकार छुट्याइएको छ । १५ किलोग्रामसम्मका कुकुर सानो, १५ देखि २५ किलोग्रामसम्मका मध्यम र २५ किलोग्रामभन्दा माथिका ठुलो आकारका कुकुर हुन् । यसरी प्रतिदिन दुई हजार पाँच सयदेखि तीन हजार पाँच सय रुपियाँ लागत लाग्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै दुई वर्षदेखि काठमाडौँमै ‘पेट स्पा’ चलाउँदै आउनुभएका सञ्चालक गोविन्द भण्डारीका अनुसार यो पेसा जोखिमयुक्त छ । भण्डारीको ‘पेट स्पा’ मा छ वटाभन्दा बढी कुकुर राखिँदैन । “घरपालुवा कुकुरलाई होस्टेलमा राख्ने काम कुकुरको सुरक्षासँग जोडिएको छ । कुकुर हराउन सक्छ, बोर्डिङभित्रै मर्न सक्छ । आफ्नो घरको सदस्य छोड्दा जोखिम अवश्य हुन्छ,” उहाँ भन्नुहुन्छ ।

नश्ल अनुसार प्रतिदिन आठ सयदेखि एक हजार चार सयसम्म तिरेर आशा र भरोसा लिएर कुकुर छोड्न आउँछन् । जस्तै जर्मन सेफर्डको हेरचाह गर्न धेरै खर्च र समय लाग्छ । उहाँका अनुसार सबैभन्दा धेरै आउने कुकुर जापानिज सिप्न्ज र मध्यममा गोल्डेन रिट्राइभर र ठुलोमा जर्मन सेफर्ड पर्छ । हस्की पनि छ । ‘भेट फर यर पेट’ अस्पतालका डा. एकता पाण्डेका अनुसार होस्टेलमा राख्नु अगाडि सम्पूर्ण स्वास्थ्य जाँच गरिन्छ । “खोप लगाएको विवरण, बोर्डिङमा राख्नु्अघि शारीरिक अवस्था स्वस्थ हुनुपर्ने हुन्छ । घर छोड्डा कुकुरलाई पनि दुःख लाग्छ । यस्तो अवस्थामा उसको मानसिक स्वास्थ्यका विषयमा पनि ध्यानपूर्वक निर्णय लिनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । दुई वर्षदेखि ‘पज प्लेज एन्ड स्टे’ मा आफ्नो घरपालुवा कुकुर छोड्दै आउनुभएका रितु केसीका अनुसार मानिसहरू छुट्टी मनाउन टाढा गए जस्तै हो । “मलाई लाग्छ, कुकुरका लागि डग होस्टेल ‘भ्याकेसन’ नै हो,” उहाँ भन्नुहुन्छ । दसैँ, तिहारसँगै विदेश जाँदा आफूलाई धेरै सहज भएको उहाँ बताउनुहुन्छ । आफ्नो घरपालुवालाई पज प्लेजमा छोड्दा उहाँ ढुक्क महसुस गर्नुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button