मूल खबरहेड लाइन

विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना: ‘राष्ट्रप्रियता, सद्भाव र आत्मनिर्भरतामा जोड’

झापा — पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी वक्तव्यमा पूर्वराजा शाहले प्राकृतिक प्रकोप, देशको वर्तमान राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता प्रकट गर्दै राष्ट्रिय एकता र स्वाभिमान जोगाउन आह्वान गर्नुभएको छ। शुभकामना सन्देशमा यस वर्षको वर्षाद्का क्रममा भोटेकोशी र बुढीगण्डकीमा आएको बाढी तथा अविरल वर्षाका कारण पुगेको जनधनको अपार क्षतिप्रति दुःख व्यक्त गरिएको छ।

प्रकृति आफ्नै नियममा चल्ने भएकाले सन्तुलन र संरक्षणको नीति अवलम्बन गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। साथै, बाढी र विपद्बाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्मार्ण तथा पीडित नागरिकहरूको शीघ्रातिशीघ्र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ छ।

पुनर्निर्माणका कार्यमा बाह्य सहयोग लिँदा देशको स्वाभिमान, स्थानीय परम्परा र संस्कृति जोगिने गरी कूटनीतिक चातुर्यता अपनाउनुपर्ने सन्देशमा उल्लेख छ। पूर्वराजा शाहले कठिन समयमा एक-अर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति भएको बताउनुभएको छ।

देशको वर्तमान स्थितिप्रति प्रश्न उठाउँदै विज्ञप्तिमा देशको राजनैतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको तर्फ ध्यान आकर्षण गराइएको छ। यी सबै कमजोरीहरूलाई सुधारेर प्रजातान्त्रिक विधि प्रक्रियालाई सुदृढ पार्दै भूराजनीतिक स्थितिमा राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ।

साथै, राज्य सञ्चालनमा आएको नयाँ पुस्ताले देशवासीको मुहारमा उत्साह ल्याउन सकोस् भन्ने अभिलाषा पनि उहाँले व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशको अन्त्यमा पूर्वराजा शाहले विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर र कमजोर नभई सबल नेपाल निर्माण गर्ने सोच सबैमा जागृत होस् भन्ने कामना गर्नुभएको छ। असत्यमाथि सत्यको विजयको प्रतीक दशैँले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरोस् भन्दै उहाँले ‘जय नेपाल’ शब्दसहित शुभकामना व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button