खबरहेड लाइन

न्यून आय भएकालाई दसैँ कठिन

काठमाडौँ, असोज ३१ गते । कलङ्की चोकमा सानो खुद्रा पसल गर्ने कौशिला न्यौपानेलाई दसैँले निराश बनाएको छ । चोकको सानो खुद्रा पसलको कमाइले आफू र दुई साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पुर्‍याउनै सकस छ ।

गत भदौदेखि नै महँगिएको बजार दसैँले झनै बढाएको छ, व्यापार छैन । सानो कमाइ हुनेलाई त दसैँ नआए हुन्थ्यो जस्तै लाग्ने उहाँले दुःखेसो गर्नुभयो । न्यौपानेको यो भोगाइले न्यून आय भएका आमनागरिकको अहिलेको जटिल अवस्था देखाउँछ । पछिल्लो पटक निरन्तर बढिरहेको महँगीले न्यून आय भएका व्यक्तिको जीवनयापन कठिन बनाएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार असारयता आवश्यकीय चामल, तेललगायतको खाद्यान्नको मूल्य उच्च दरमा बढेको छ । नेपाल राष्ट्र बैङ्कको बिहीबार सार्वजनिक भएको प्रतिवेदन अनुसार चालु आव २०८३/८४ भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति) ६.३४ प्रतिशत कायम भएको छ । साउनमा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आव २०८२/८३ को भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७ प्रतिशत थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो चार महिनाको बिचमा चामलको भाउ प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ । सो अवधिमा मुसुरो, रहर, मास दाल, गेडागुडी केजीमा २० देखि ३५ रुपियाँसम्म बढेको छ भने खानेतेल प्रतिलिटरमा २५ देखि ३० रुपियाँसम्म बढेको छ । चिनी, आँटा, मैदा, चिउरालगायतको पनि त्यही अनुपातमा मूल्य बढेको सङ्घले जनाएको छ ।

व्यापारीले बजारभाउ महँगिँदा उपभोक्ताको किनमेल नै कम भएपछि व्यापारी नै विस्थापित हुने अवस्था आएको गुनासो गर्दै आएका छन् । दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीको समेत व्यापार खुम्चिएको व्यापारीको अनुभव छ । नेपाल खुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो समय करिब ३० प्रतिशतले व्यापार घटेको अनुभव सुनाउनुभयो । सधैँ चाडपर्वमा भ्याइ नभ्याइ हुने उहाँको पसलमा अहिले कतिबेला ग्राहक आउँछन् भनेर कुरेर वस्नुपर्ने अवस्था आएको छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको फितलो अनुगमनको फाइदा उठाउँदै व्यापारीले दसैँको मुखमा अति आवश्यकीय चामल, खानेतेल, चिनी, गेडागुडीलगायतका वस्तुको मूल्य बढेको बताउनुभयो । माग र आपूर्तिको तालमेल नमिल्दा पनि अस्वाभाविक मूल्यवृद्धि हुने गरेको उहाँको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नितेशकुमार शाक्यले विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले दसैँमा बढी माग हुने वस्तु र बढी बिक्री हुने स्थानलाई प्राथमिकतामा राखेर अनुगमन भएको दाबी गर्नुभयो । बजारमा खाद्यवस्तु पर्याप्त भएकाले अहिले महँगो गर्नुपर्ने कारण नभएको पनि उहाँको भनाइ छ ।

नागरिक सहायता डेस्कमार्फत बजारको निगरानी

सरकारले नागरिकको हितलाई लक्ष्य गरी उपत्यकाका विभिन्न १५ स्थानसहित देशभर १०८ स्थानमा रहेका ‘नागरिक सहायता डेस्क’ मार्फत बजारको निगरानी भएको जनाइएको छ । गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरीले देशभर सञ्चालन गरेका सहायता डेस्कमार्फत नागरिकलाई ठगीबाट जोगाउने गरी निगरानी बढाएको जनाएको हो । काठमाडौँको हकमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा उपत्यका प्रहरीले नागरिकको बढी आवतजावत हुने ठाउँमा डेस्क राखेर नागरिकलाई सचेत गराउने काम भएको छ ।

काठमाडौँ उपत्यकालगायत प्रमुख सहरका मुख्य बजार, किनमेल केन्द्रबाट नागरिक सहायता डेस्क आएका नागरिकका गुनासोलाई तुरुन्तै सम्बोधन गर्ने काम भएको जनाइएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button