
एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससाग उसकै मैदानमा ३–२ ले स्तब्ध बनेको हो ।

वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको दुवै गोल सान्त्वना बन्यो ।
खेलको १२औं मिनेटमा नै सिटीका गोलरक्षक इडर्सन मोरेस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी समस्यामा परेको थियो । डिएगो जोटालाई वान भर्सेस वानको अवस्थामा पेनाल्टी बक्स बाहिर आएर फल गरेपछि रेफ्रीले इडर्सनलाई सिधै रातो कार्ड देखाएका थिए ।

२१औं मिनेटमा वल्भ्सका डेन्डनकरले सिटीका रियाद महारेजलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई प्राप्त पेनाल्टीमा रहिम चुके । २४औं वल्भ्सका रुइ प्याट्रेसियोले बचाइदिए । तर, वल्भ्सका खेलाडीले लाइन क्रस गरेको भन्दै रेफ्री मार्टिन एटकिन्सनले सिटीलाई पुनः पेनाल्टीको मौका दिएको थियो ।

यसपटक पनि वल्भ्सका गोलरक्षक रुइ प्याट्रेसियोले रहिमको प्रहारलाई बचाएका थिए । तर, रिवाउन्डमा रहिमले गोल गर्न सफल हुदा सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५०औं मिनेटमा रहिमले नै केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । १० खेलाडीमा सीमित सिटीसँग घरेलु मैदानमा २–० ले पछि परेको वल्भ्सले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्दै सिटीमाथि रोमाञ्चक जित निकाल्न सफल भयो ।

५५औं मिनेटमा एडमाले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने संकेत दिए । ८२औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा माटले गोल गर्दै वल्भ्सलाई ३–२ को रोमाञ्चक पूनरागमन जित दिलाए ।
जितपछि वल्भ्स १९ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ । पराजित सिटीले भने दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको उपाधि यात्रा थप कमजोर बनेको छ । सिटीको १९ खेलबाट ३८ अंक छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाटै ३९ अंक छ ।

एक खेल कम खेलेको शीर्षस्थानमा रहेको लिभरपुलको ५२ अंक छ । जुन दोस्रो स्थानको लेस्टरको भन्दा १३ तथा सिटीको भन्दा १४ अंक बढी हो ।hamrokhelkud



