मूल खबर

मलेसिया पुगेका सदाइ जब बाकसमा फर्किए…

निर्मला घिमिरे

काठमाडौं- अँध्यारो अनुहार। अगाडि सानो बच्चा, पछाडि हरियो रङको पुरानो झोला र लठ्ठी जस्तै टेक्न मिल्ने छाता।

फित्ता भएको चप्पल पड्काउँदै एक पुरुष बिजुली बजार पुलबाट अगाडि लम्किरहेका भेटिन्छन्।
साथमा सेतो हुलिया लगाएकी, सेतो साडीले टाउकोसम्म ढाकेकी एक महिला पछिपछि लम्किरहेकी थिइन्।

दुब्लो शरीर। एउटा हातमा कागजपत्र र अर्को हातमा कपडा।

‘वैदेशिक रोजगार बोर्ड कहाँनिर छ?’ त्यतिकैमा ती पुरुषले प्रश्न गरे।

‘यहीँ नजिकै हेर्नुस् त, त्यही हो,’ वैदेशिक रोजगार बोर्डको होर्डिङ बोर्ड टाँगिएको भवनतिर औंल्याउँदै मैले देखाएँ। भवन देखाइसकेपछि उनलाई प्रश्न गरेँ, ‘के कामको लागि आउनु भएको?’
‘ऊ यो मेरो भाइबुहारी, भाइले विदेशमै ज्यान गुमायो, केही आर्थिक सहायता मिल्छ रे भन्ने सुनेर आएको,’ महिलातिर औंल्याउँदै ती पुरुषले सुनाए।

त्यतिकैमा ती महिलाका गह भरिए। उनी केही बोलिनन्। काँपिरहेका ओठलाई जबरजस्ती बन्द गरिन् र चुपचाप अघि बढिन्।

हामी विस्तारै बोर्डतर्फ लम्कियौं। बोर्डमा पुगेपछि थप कामका लागि केही समय कुर्नुपर्ने भयो।
सोही समयमा उनीहरूका बारेमा थप बुझ्ने मौका मिल्यो।

ती पुरुष बारा जिल्ला परवानीपुर गाउँपालिका–१ का भगवान महत्तो धानुक रहेछन्। महिला पनि परवानीपुरकै कलिता कुमारी देवी रहेछन्। सानो बच्चा कलिताकै कान्छा छोरा।

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कलिताकुमारीका श्रीमान् सदाइ महतोको धानुकको मलेसियामै मृत्यु भएपछि अन्त्येष्टीको सबै काम सकेर उनीहरू आर्थिक सहायताका लागि बोर्डमा आएका रहेछन्।

सदाइको सुतिरहेकै अवस्थामा मृत्यु भएको थियो।

पोष्टमार्टमपछि पनि मृत्युको कुनै कारण खुलेन। सदाइको अन्तिम संस्कार सकियो तर आफन्तहरूलाई सदाइको मृत्युको विश्वास नै लाग्दैन।

सदाइको मृत्युले घरिघरि झस्काइरहन्छ।

कलितका आँखा सदाइको मृत्युको खबर सुनेदेखि नै ओभाएका छैनन्। सदाइका बारेमा कसैले केही सोधिहाले पनि कलिताका आँखा रसाइहाल्छन्।

कलितासँग केही कुरा गर्ने प्रयास गर्दा सुरुमा उनी बोल्न चाहिनन्। चुपचाप बसिरहिन्। उनका गहभरि आँसु टिलपिलाइरहेको थियो।

‘गत साउन २८ गते भाइको निधनको खबरपछि यिनका आँखा ओभाएका छैनन्,’ कलिताका जेठाजु भगवानले सुनाए।

कलिता र सदाइको विवाह भएको ६ वर्ष बित्यो। कलितासँग सदाइले मागी विवाह गरेका थिए।
विवाहको लगभग २ वर्षसँगै बसे दम्पती। र २०७५ पुस ३० गते सदाइ रोजगारीका लागि मलेसिया पुगेका थिए।

मलेसियाको जेभी मोनी टोनिस कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा पुगे थिए सदाइ। तर, ७ महिनामै उनको मृत्युको खबर आयो।

सदाइले बेलाबेलामा पैसा पठाइरहन्थे। फोनमा श्रीमतीसँग कुराकानी भइरहन्थ्यो।

‘दसैंमा त छुट्टी मिल्दैन, मिल्यो भने दिवालीमा आउन सक्छु भन्नु भएको थियो,’ कलिताले करुण बोलीमा मुख खोलिन्, ‘दिवाली होइन दसैंअघि नै तर…।’

उनको गला अवरुद्ध भयो। उनी अर्कोतिर फर्किएर रुन थालिन्।

कलिता र सदाइका दुई छोरा छन्। उनीहरू सानै छन्।

‘जेठो छोरा २ वर्षको भयो, कान्छो १४ महिनाको भयो,’ कलिताले भनिन्।

उमेरले कलिता जम्मा २६ वर्षकी भइन्। सदाइको उमेर ३८ वर्ष पुगेको थियो। सानैदेखि वैदेशिक रोजगारीमा जान सुरु गरेका सदाइले विवाह ढिलो गरेका थिए।

‘विवाह गर्दा सदाइ ३२ र कलिता २० वर्षकी थिइन्।

सानै उमेरमा आमा बुबा गुमाएका सदाइ दाजुसँगै थिए। दाजु भगवानमाथि पनि जिम्मेवारी थपिएकाले उनी रोजगारीका लागि साउदी पुगेका थिए।

‘साउदीमा काम कठिन कमाइ कम, दुई वर्ष मुस्किलले कटाएर आएँ,’ भगवान विगतमा बहकिन्छन्, ‘यही बसौं जग्गा पनि धेरै थिएन, जम्मा ४ कठ्ठा थियो। त्यो पनि दाजुभाइले दुई दुई कठ्ठा अंशबण्डा लगायौं।

साउदी पुगेर पनि भगवानले राम्रो कमाइ गर्न सकेनन्। मुस्किलले कमाएको रकमले साउदी जाँदा लागेको ऋण तिर्दै ठिक्क भयो।

अहिले भगवान गाउँमै ज्याला मजदुरी गर्छन्।

‘विदेशमा कमाउन नसकेपछि म फर्किएर आफ्नै देशमा काम गर्न थालेँ, विदेशमा सुख छैन, पैसा पनि छैन,’ भगवानले थपे।

भगवान साउदी गएपछि सदाइ पनि कतार पुगे।

भगवानका अनुसार सदाइको काम र कमाइ ठिकै थियो। तर, सोचेजस्तोे थिएन। ४ वर्ष सदाइ कतार बसेर फर्किए।

कतारबाट फर्किएर सदाइले कलितासँग विवाह गरेका थिए।

कान्छो छोरो ७ महिनाको हुँदा विदेशिएका सदाइले कान्छो छोराको मुखबाट ‘बाबा’ भन्ने शब्द सुन्न नपाइ परदेशमै ज्यान गुमाए।

कलिता र उनका दुई छोरा सदाइमाथि नै निर्भर थिए। सदाइले बेलाबेलामा पैसा पठाइरहन्थे। उही पैसाले घर खर्च चल्दै आएको थियो।

अब कलिताको आम्दानीको स्रोत केही छैन।

‘म पनि ज्यालादारी गरेर मुस्किलले ज्यान र छोराछोरी पालिरहेको छु, अब उमेरले पनि ५ दशक नाघ्न लाग्यो,’ भगवानले भने, ‘यता बुहारी कलिताको अवस्था हेर्दा उस्तै बिजोग छ, अब छोराहरू कसरी पढाउने कसरी हुर्काउने चिन्ता त त्यता पो छ।’

‘जग्गा दुई कठ्ठा थियो, घर पनि त्यसमा अटाएको छ, बाँकी जग्गाले वर्षभरि खान पुग्दैन। म घरमै बस्छु। केही काम पनि जानेको छैन, हाम्रोतिर छोरीमान्छेले नोकरी गर्ने चलन पनि छैन,’ कलिताले थपिन्।

सदाइको मृत्युको अघिल्लो दिनसम्म कलिता र सदाइबीच कुराकानी भएको थियो। धेरैजसो कुरा भइरहने हुँदा सञ्चो विसञ्चोको मात्रै कुरा भएको थियो।

‘अघिल्लो दिनसम्म आफ्नो स्वास्थ्य अवस्था ठीकठाक बताउने सदाइको मृत्यु कसरी भया ?’ कलिताको मनमा त्यो प्रश्नको छिनोले ठुँगिरहन्छ।

‘मलाई विश्वास नै लाग्दैन, सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो होला,’ कलिता सुँक्सुकाउँदै भन्छिन्।

यही आशंका दाजु गवानको मनमा पनि उब्जिरहेको छ।

‘कसैले मारिदियो कि, परदेशको ठाउँमा कसको के विश्वास?’ भगवानले भने, ‘अरुको घरमा चाड नजिकिँदैछ, हाम्रो घरमा दशा चलेको रहेछ।’

‘चाडवर्प पनि नजिकियो, सबै दसैं दसैं भन्न थाले। नयाँ लुगाफाटो किन्ने घर श्रृंगार गर्ने बेला आयो हामीलाई दशैंको के हर्ष खै?’ भगवानले थपे।

सदाइ जस्तै वैदेशिक रोजगारीका क्रममा रहेका थुप्रै नेपाली श्रमिकको सुतिरहेको अवस्थामा मृत्यु हुने गरेको छ।

उनीहरूको मृत्युको कारण समेत खुल्दैन। यसरी जुनसुकै कारणले भए पनि वैदेशिक रोजगारीमा रहेको अवस्थामा करार अवधिमै ज्यान गुमाएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्ड आएका सदाइका परिवारले सहायता स्वरुप ७ लाख पाएका छन्।

बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता लिएका मृतक व्यक्तिका छोराछोरीलाई समेत माध्यमिक तहसम्मको अध्ययनका लागि शैक्षिक सहायता उपलब्ध गराउँदै आएको छ।nepallive.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button