सेभोक : सिलगढी सहरदेखि केही टाढामा रहेको सेभोकस्थित बाघ पुल (कोरोनेशन ब्रिज)-बाट आज दिउँसो एकजना अज्ञात महिलाले टिस्टा नदीमा सोझै हाम फालेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज दिउँसो लगभग 10.30 बजीको समय एकजना महिलाले बाघपुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरे। घटनाको खबर पाएर सेभोक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त महिलाको उद्धार कार्यमा लागे। पुलिसले घटनास्थलमा आइपुगेको फायर ब्रिगेड टोलीका कर्मीहरूको सहयोगमा खोज तलासी अभियान चलाएपछि बाघपुलदेखि केही तल पानीमा तैरिरहेको अवस्थामा उक्त महिलाको शव उद्धार गरिएको बताइएको छ। उद्धार गरिएको उक्त महिलाको शव हालसम्म चिन्हित नभएको तर यसबारेमा खोजबीन भइरहेको पुलिस सूत्रले जानकारी गराएको छ।
सिलगढी : भाजपाले गत 2019-को लोकसभा चुनाउमा पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक समाधान अनि 11 जात गोष्ठीलाई अनुसूचित जनजातिको दर्जा दिने प्रतिबद्धता आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेपछि पहाडका 6 वटा राजनैतिक दलहरूले भाजपा सांसद राजु विष्टलाई भारी मतले विजयी गराएको हो तर आज चुनाउ जितेर 9 महिना बितिसक्दा पनि भाजपाले राजनैतिक समाधानलाई लिएर कुनै पहल नगरेको गोरामुमो केन्द्रीय सदस्य ऋषि थापाले आरोप लगाएका छन्। तिनले जारी गरेको विज्ञप्तिमा बताएअनुसार स्थायी राजनैतिक समाधान गोर्खाल्याण्ड अथवा युटी हुनुपर्छ भन्ने सबैको चाहना भए तापनि 2021-को बङ्गाल विधानसभा चुनाउअघि भाजपा आफ्नो चुनाउ पत्ता खोल्ने पक्षमा रहेको छैन। आगामी 2021-को विधानसभा चुनाउ सकेपछि पनि फेरि 2024-मा लोकसभा चुनाउ हुनेछ। 2019-मा बङ्गालबाट 18 वटा आसन जित्ने भाजपाले गोर्खाल्याण्ड अथवा युटी-को कुरा निकालेर आगामी 2024-को लोकसभा चुनाउमा त्यो 18 वटा आसन कदाचित गुमाउनु चाहँदैन भन्ने तिनले दावी गरेका छन्। यसैले गोर्खाल्याण्ड हरेक गोर्खाको ढुकढुकी रहे तापनि केन्द्रको भाजपा सरकारमा राजनैतिक इच्छा शक्ति नरहेको तर तिनीहरूको राजनैतिक इच्छा शक्तिमाथि राजनैतिक स्वार्थ हावी भइरहेकोले गर्दा वर्तमान परिस्थितिमा 1931-को जनगणनाको आधारमा सबैलाई गोर्खालाई जनजातिको मान्यता दिने अनि पहाड लगायत तराई र डुवर्सको सबै गोर्खा बाहुल क्षेत्रलाई मिलाएर संविधानको छैटौँ अनुसूचीमा अन्तर्भुक्त गरिनुपर्ने कुरामा सबै राजनैतिक दलहरूले जोड दिनुपर्ने साथै त्यो नै सबैभन्दा उत्कृष्ट विकल्प वर्तमान परिस्थितिमा रहेको तिनले दावी गरेका छन्।
सिलगढीमा अन्तरराज्य भलिबल प्रतियोगिता हुने
सिलगढी : हिमाचल संघको आयोजनामा आगामी 29 फरवरीदेखि 12औँ अन्तरराज्य भलिबल प्रतियोगिता शुरू गरिने भएको छ। विशेष गरेर उत्तरबङ्ग उत्सवको समय भलिबल प्रतियोगिता गरिने भए तापनि केही कारणवश यस वर्ष उक्त प्रतियोगिताको आयोजना गर्नमा विलम्ब भएको बताइएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर रञ्जन सरकारले हिमाचल संघ, सिलगढी महकुमा क्रीडा परिषद् एवम् 30 नम्बर वार्ड कमिटीको संयुक्त पहलमा भलिबल प्रतियोगिता गरिनेबारे जानकारी गराए। आगामी 1 मार्चसम्म चल्ने उक्त भलिबल प्रतियोगितामा 6 वटा क्लबले अंश ग्रहण गर्ने भएको छ भने विजयी टोलीहरूलाई 25 हजार, 15 हजार र 5 हजार रुपियाँ पुरस्कार पनि प्रदान गरिनेछ। उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देव मुख्य रूपमा उपस्थित रहने बताइएको छ।siliguritimes/india





