खबर

ट्याङ्करको मास्टर कि गायब प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरु

हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो । साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।

ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्करलाई दिइँदैन । सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै ‘रिक्स’ छैन, अनुसन्धान भइरहेको छ ।”

विशाल ओझाको संयोजकत्वमा समिति गठन गरी अनुसन्धान भइरहेको गोइतले जानकारी दिए । निगमका अनुसार प्रमुख दायित्व कार्यालय प्रमुखको नै हुन्छ । त्यसमाथि साँचो राख्ने दराजको पासवर्ड कार्यालय प्रमुखसँग मात्र हुन्छ । बिहान कामका लागि साँचो निकालेपछि साँझ थन्काइन्छ । कार्यालय प्रमुखले चाहे दैनिक रूपमा पासवर्ड परिवर्तन गर्न सकिन्छ । ती हराएका चार सय साँचो अहिलेसम्म भेटिएका छैनन् ।

गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button