
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली लियोनसँग १–० ले स्तब्ध बनेको हो ।
युभेन्टसले लियोनसँग कुनै पनि खेलमा पहिलो हार बेहोरेको हो । यि दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्टसले ५ मा जित र १ बराबरीको नतिजा निकालेको थियो । यससँगै लियोनले हारको श्रृंखलालाई तोड्न सफल हुदा युभेन्टसले लियोनसँग पहिलो हार भोग्न पुग्यो ।
लियोनको जितमा लुकास टोउसार्टले गरेको गोल नै निर्णायक बन्यो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले लियोनको बलियो रक्षापङ्ति तोड्न सकेन ।

३१औं मिनेटमा लुकास टोउसार्टले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सिक्स यार्डमा अनमार्क रहेका उनले हुसेन ओउअरको पासमा गोल गर्न सफल भएका थिए । युभेन्टसले दोस्रो हाफमा पनि घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो लेगमा १–० को हार भोग्न पुग्यो । सुपरस्टार फारवार्ड रोनाल्डोले केही अवसर खेर फालेका थिए ।
पहिलो लेगमा पाएको सफलतासँगै लियोनले क्वाटरफाइनल पुग्न सम्भावना बलियो बनाएको छ । अब युभेन्टसको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके लियोनले क्वाटरफाइनलको यात्रा तय गर्नेछ । युभेन्टसलाई भने अर्काे चरणको यात्रा तय गर्न घरेलु मैदानमा कम्तीमा पनि जित आवश्यक छ ।hamrokhelkud



