खबर

नेकपा रुपन्देहीद्वारा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

कार्यक्रममा जिल्ला इन्चार्ज संगम पुनले राज्य सहिद परिवारसँगै डराउन थालेको र क्रान्तिलाई सहयोग गर्ने सहिद परिवारलाई राज्यले विभिन्न झुट्टा मुद्दा लगाउन थालेको बताए । उनले, सहिद परिवारका जस्तासुकै समस्याहरुमा पनि पार्टीलाई उपस्थित गराउने भन्दै आफुहरु सहिद परिवार र आम जनताको बिचमा रहने उद्घोष गरे । उनले, पार्टीले जिल्लाभर भएका सहिद तथा बेपत्ताहरुलाई स्मरण गर्नेगरी स्मारिका प्रकाशन गर्न लागेको समेत बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी विजयले कथित कम्युनिस्टको सरकारले सहिदहरुलाई अपमान गरेको भन्दै आफुहरुले सहिदका सपनाहरूकै बाटोमा हिडेको बताए । उनले एकीकृत जनक्रान्ति कुनै रहरको कुरा नभएर आजको आवश्यकता हो भन्दै पार्टी अमेरिका या भारतको अगाडि झुकेर लम्पसार नपर्ने र साम्राज्यवादको विरुद्ध लड्ने उद्घोष गरे ।

सहिद परिवारको तर्फबाट बोल्दै सहिद पत्नी एवं पुर्व सांसद लता घिमिरेले सहिद परिवारले आफ्ना भाईछोराले बगाएको रगतको सम्मान गर्नुपर्ने बताईन् । उनले सहिद परिवारहरुका सपनाहरूलाई भोट बैकको रुपमा मात्रै नेताहरूले प्रयोग गर्न खोजेको भन्दै सबै सचेततापुर्वक आफ्ना आफन्तको सपनाहरूलाई साथ दिनेलाई सहयोग गर्नसमेत आग्रह गरिन् । यस्तै सहिद तथा बेपत्ता परिवार समाजका लुम्बिनी ब्युरो संयोजक जया पौडेलले हामीले लडेर ल्याएको गणतन्त्रको हामीले नै अनुभूति गर्न नसकेको भन्दै अबका सपनाहरू पूरा गर्न सहिद परिवारले एकीकृत जनक्रान्तिलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।

रुपन्देही जिल्लाबाट जनयुद्धमा ६४ जना सहिद तथा ५ जना बेपत्ता भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button