कला

रेखालाई प्रश्नः बिहेको कार्ड कहिले छापिन्छ ?

फिल्मीखबर, काठमाडौं
यो वर्ष केही नेपाली अभिनेता तथा अभिनेत्रीहरुले घरजम बसाएका छन् । गएको मंसिरमा अभिनेत्री ऋचा शर्मा र यही फागुनमा अभिनेत्री रिश्मा गुरुङले लगनगाँठो कसे । यस्तै, शुक्रवार नेपाली फिल्मका लभ बर्डस् प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिए। अब, दुलही हुने पालो अभिनेत्री आँचल शर्माको आएको छ । उनी यही फागुनमा विवाह गर्दैछिन् ।

हरेक वर्ष अभिनेता तथा अभिनेत्रीहरु बैबाहिक जीवनमा बाँधिँदा अभिनेत्री रेखा थापाले भने सधैं मिडियाकर्मीबाट विवाहको प्रश्न सामना गर्नुपर्छ। निर्माता छविराज ओझासँग दश वर्ष लामो बैबाहिक सम्बन्ध टुंग्याएपछि एकल जीवन विताउँदै आएकी अभिनेत्री रेखा केही वर्षयता कसैको प्रेममा रहेको फिल्मवृतमा चर्चा छ । तर, उनले भने यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।

शुक्रवार साँझ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको रिसेप्सन पार्टीमा पुगेकी अभिनेत्री रेखा थापालाई पत्रकारले प्रश्न गरे- ‘अब तपाईंको बिहेको कार्ड कहिले छापिन्छ ?’ उनले ठट्यौली शैलीमा ‘छिटै छापिन्छ’ भन्दै जवाफ फर्काइन् । उनले थपिन्, ‘बिहे भनेको लेखान्त हो । जहिले लेखेको छ त्यो बेला केही कुराले पनि रोकिन्न । मैले चाहेर बिहे हुने होइन ।’

निर्देशक रेनशा वान्तवा राईसँग प्रियंका र आयुष्मानको रिसेप्सन पार्टीमा पुगेकी उनले आफ्नो अभिनय र निर्माण रहने नयाँ फिल्मको आउँदो बैशाखबाट छायांकन सुरु हुने पनि बताइन् । फिल्ममा अनुबन्ध भएका अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँग स्क्रिन साझेदारी गर्न आफू निकै उत्साहित रहेको उनको भनाई छ । यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।

अभिनेत्री रेखाले निर्देशक रेनशासँगको प्रोजेक्ट पनि निर्माण हुने स्पष्ट पारेकी छन् । केही महिनाअघि उनले आफूले निर्माण गर्ने फिल्ममा रेनशालाई निर्देशकमा अनुबन्ध गरेकी थिइन् । तर, यो फिल्मभन्दा अगाडि उनले सविरसँगको प्रोजेक्ट अगाडि गर्ने भएपछि अब रेनशासँग सहकार्य भएको फिल्म नबन्ने चर्चा चलेको छ । यसबारेमा रेखा थापाले आफ्नो मुख खोलेकी छन् ।

‘रेनशाको लामो समयदेखि ‘आइ एम ट्वान्टिवान’ मा काम भैरहेको छ । मैले पनि सविरसँगको प्रोजेक्ट धेरै अगाडि गर्ने कमिटमेन्ट गरेको थिएँ । त्यसैले अहिले हामीले आ-आफ्नो प्रोजेक्ट गर्न लागेका हौं । हामी दुवै फुर्सद भएपछि फिल्मको तयारीमा जुट्नेछौं,’ रेखाले भनिन् । फिल्मलाई लिएर अड्कलबाजी नगर्न आग्रह गर्दै उनले आफूहरु सल्लाहअनुसार नै अगाडि बढेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button