खबर

पूर्वराजा आज स्वदेश फिर्दै

नेपाल समाचारपत्र, काठमाडौं ।

दुई साता लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार आज आइतबार नेपाल आइपुग्ने कार्यक्रम छ। भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न पुग्नुभएका ज्ञानेन्द्र आज साढे २ बजे नेपाल फर्कने बताइएको छ।

पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर अमृतशहर पुग्नुभएका ज्ञानेन्द्र परिवारले स्वर्ण मन्दिरको दर्शन गर्नुभएको थियो।

ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उहाँकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली भारत पुगेको थियो। यही फागुन ४ गते भारत भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले भारतको राजधानी नयाँदिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतको दाबी छ।

‘उहाँले आफू निकटका केही भारतीय नेतालाई मात्र भेट्नुभएको छ’ –उच्च स्रोतले भन्यो। दुई साता भारत बसाइको क्रममा उहाँले केही अन्य धार्मिक तीर्थस्थलको समेत भ्रमण गर्नुभएको थियो।

नेपाल फर्केर केही दिन काठमाडौं बस्ने र लगत्तै चैत १ गते झापा जाने कार्यक्रम तय भएको छ। ‘अब लामो समयसम्म झापामै बस्ने गरी कार्यक्रम तय गर्नुभएको छ’ –निर्मल निवास स्रोतले नेपाल समाचारपत्रसंँग भन्यो।

उहाँले नयाँ वर्षको कार्यक्रम झापामा नै तय गर्नुभएको छ। करिब तीन महिना अघिदेखि झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्दै आएका ज्ञानेन्द्रले पछिल्लो समय निकटका नातेदार र राजनीतिक आस्था राख्नेलाई झापामै भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button