खबर

नव निर्मित भवन उद्घाटन

ज्यामिरगढी÷ निम्न वर्गका लागि सामुदायिक विकास संस्थाको नव निर्मित भवन आइतबार उद्घाटन गरिएको छ ।

मेचीनगर वडा नम्बर १५ का अध्यक्ष गुणराज भट्टराई(राजन)ले उक्त संस्थाको नव निर्मित भवन उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले भवन निर्माणसँगै कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह सहज बन्ने बताए ।

‘संस्थालाई सहकारीमार्फत अघि बढाउनु अहिलेको आवश्यकता हो, मेचीनगरका सबै ठाउँमा सडक बत्ती छन् तर, अलि महँगो छ’–उनले भने।

उक्त संस्थाले मेचीनगर ७ र १५ का ग्राहकलाई विद्युत सेवा प्रदान गर्दै आए पनि सेवा विस्तार अझै पर्याप्त नभएको उल्लेख गरे ।

उक्त सेवाको पहुँच नपुगेका स्थानमा सेवा विस्तारका लागि आवश्यक सहकार्य गर्न वडा कार्यालय सदैव तत्पर रहेको उनले बताए ।

त्यसक्रममा नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका इञ्जिनियर छत्रपति भण्डारी, संस्थापक अध्यक्ष नरप्रसाद लामिछाने, पूर्व अध्यक्ष खड्गबहादुर राउत, नेपाली काँगे्रेसका वडा सभापति सोमबहादुर कटुवाल, नेकपाका वडा अध्यक्ष जीवन सापकोटा, राप्रपाका वडा अध्यक्ष इन्द्र थापा, शहीद वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतमलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत उपाध्यक्ष निता पुरी र सञ्चालन सचिव विज्ञान श्रेष्ठले गरेका थिए ।

सामुदायिक विद्युत वितरण कार्यक्रम सञ्चालन गर्दै आएको उक्त संस्थाको भवन करिब २३ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको हो ।

स्थानीय जग्गा दाता लेखनाथ भट्टराईले निःशुल्क रुपमा प्रदान गरेको १० धुर जग्गामा भवन निर्माण गरिएको छ ।

उनले स्व.श्रीमती मीना भट्टराईको स्मृतिमा प्रदान गरेको जग्गामा निर्मित भवनका लागि मेचीनगर नगरपालिकाले १ लाख ३० हजार रुपैयाँ अनुदान दिएको थियो ।

२०६० सालदेखि समुदायस्तरमा विद्युत सेवा प्रवाह गर्दै आएको संस्थाको हाल १६ सय ग्राहक रहेका संस्थाका व्यवस्थापक छत्रबहादुर राउतले जानकारी दिए ।

उनका अनुसार स्थापना अवधिमा २ सयजना ग्राहकबाट सेवा प्रदान गर्न थालेको संस्थाको हाल ११ वटा ट्रान्सफर्मर सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button