
आजका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचारले प्राथमिकता पाएका छन् ।
२०६३ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको त्रिवि शिक्षण अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म आठ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यो हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ र यति ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति हुन् । सम्भवतः यही कारण महाराजगञ्ज अस्पताल प्रशासन र बालुवाटारमा प्रधानमन्त्रीको व्यवस्थता सरोबरी नै थियो । ओली मध्यान्ह १२ बजे अस्पताल पुग्ने जानकारी पाएको अस्पताल प्रशासनले त्यसपछि आवश्यक पर्ने सबै तयारी र योजना तय गर्यो । सरकारी निवास बालुवाटारमा ओलीले आफू उपचारपछि फर्किएर नआउँदासम्मको सबै तारतम्य मिलाए । बिहान सबेरै औपचारिक–अनौपचारिक बैठकहरु गरे । बालुवाटारमा ओली बैठक र भेटघाटमा व्यवस्त भइरहँदा महाराजगञ्जको धपेडी पनि उस्तै थियो । ओलीका लागि ६०१ नम्बर क्याबिन खाली गरिसकिएको थियो ।

प्रत्यारोपणमा शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा. दिव्या सिंह शाहले समन्वय गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन्। प्रत्यारोपणका लागि शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्मा रहनेछन्। युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेमराज ज्ञवाली पनि संलग्न छन्। सल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ। प्रत्यारोपण सफल भएपछि मिर्गौला दाता संग्रौला तीन/चार दिनमा डिस्चार्ज हुन सक्नेछिन्। प्रत्यारोपणपछि प्रधानमन्त्री ओली भने एक साता आराम गर्नुपर्ने हुन सक्छ। ‘दुवै जनालाई डिस्चार्जका लागि एक साता लाग्न सक्छ’, डा. खड्गाले भने। तर, प्रत्यारोपणमा संलग्न एक चिकित्सकका अनुसार ७ देखि १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ। प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेक डा. अनन्त कुमार पनि प्रत्यारोपणका क्रममा सामेल हुने छन्। ‘डा. अनन्त कुमारलाई ब्याक सपोर्टका लागि बोलाइएको हो। प्रत्यारोपण नेपाली चिकित्सकबाटै हुनेछ’, प्रत्यारोपणमा संलग्न एक चिकित्सकले भने। डा. अनन्त दिल्लीस्थित म्याक्स अस्पतालको मिर्गौला प्रत्यारोपण विभागमा निर्देशक छन्। प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण अपोलो अस्पतालमा गरेका थिए। प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।
कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको हो । उपत्यका प्रहरीलाई केन्द्र कि प्रदेशमातहत राख्ने भन्ने जटिलतामध्ये एक हो । संविधान तथा अन्य कानुनमा यससम्बन्धी प्रस्ट प्रावधान छैन । संविधानमा केन्द्रशासित भूगोलबारे उल्लेख गरिएको छ, तर हालको अवस्थामा उपत्यकाका तीन जिल्ला पनि प्रदेश सरकारअन्तर्गत नै पर्दछन् । यस्तो अवस्थामा उपत्यकाका तीन जिल्लामा केन्द्रमातहत प्रहरी खटाउने कि प्रदेशमातहत भन्नेमा गृह मन्त्रालय नै अन्योलमा देखिएको हो । ‘केन्द्रमातहत राख्दा संविधान बाझिन सक्ने अवस्था छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रदेश सरकारमातहत राखे प्रदेश सरकारले केन्द्रीय सरकारलाई नै अप्ठेरो पार्न सक्ने अवस्था हुन्छ, त्यसकारण यसमा गहन छलफल भइरहेको छ ।’ छिमेकी देश भारतको राजधानी नयाँदिल्लीको प्रहरी प्रशासन केन्द्र सरकारले सञ्चालन गर्छ । राजधानीको सुरक्षा बढी नै चुनौतीपूर्ण हुने र केन्द्रीय सरकारसँगै नियमित समन्वय आवश्यक हुने भएकाले नेपालमा पनि संघमातहत नै राख्नुपर्ने प्रहरी अधिकारीहरूको धारणा छ । समायोजन र सुपरिवेक्षणसम्बन्धी दुवै ऐनमा यसबारे प्रस्ट प्रावधान छैन । संविधानमा पनि यसबारे स्पष्ट नहुँदा अहिले समस्या भएको हो । हाल महानगरीय प्रहरी कार्यालय प्रत्यक्ष रूपमा प्रहरी प्रधान कार्यालयको कमान्डमा चल्दै आएको छ । समायोजनपछि पनि केन्द्रमातहत नै राख्नुपर्ने प्रहरीको लबिङ छ । उपत्यकाका तीन जिल्लामा करिब १० हजार प्रहरी कार्यरत छन् ।
नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्याङ्क नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेको नागरिक दैनिकमा समाचार छ । तथ्याङ्क नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो नहुने समस्या देखिएकाले नियमन गर्न सुझाएका छन् । सरकारका पूर्वसचिव, विभिन्न निकायका प्रमुख सम्बद्ध २५ भन्दा बढी समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनको आगमन’ विषयमा सोमबार काठमाडौँमा भएको छलफलमा भारतबाट जथाभावी सवारीसाधन भित्रिनाले अराजकता बढ्दै गएको चिन्ता व्यक्त गरे । भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिनेहरु कहाँ जान्छन्, कति दिन बस्ने, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्याङ्क नभएको र यसले भविष्यमा ठूलो समस्या हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए । ‘कति आए, कहाँ गए, कुनै अनुगमन छैन । आउने बेला ठाउँठाउँमा तथ्याङ्क राखिनुपर्छ,’ उनले भने, ‘नेपालबाट भारत जाने सवारीसाधनले कति यात्रु लगेको छ कुनै अनुगमन छैन । सुरक्षाको दृष्टिकोणले हेर्नुपर्छ ।’ ‘नेपाल आउने हरेक विदेशीको परिचय के हो ? रेकर्ड तत्कालदेखि राख्न जरुरी छ,’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने ।
सरकारले अर्थतन्त्रका प्रायः सूचकमा दोब्बर वृद्धि गर्ने लक्ष्यसहित १५ औँ पञ्चवर्षीय योजना पास गरेको कान्तिपुर दैनिकमा समाचार छ । मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले महात्त्वकाङ्क्षी लक्ष्यसहित योजना पास गरेको हो । आयोगले उपलब्ध गराएको योजना दस्तावेजअनुसार हाल निरपेक्ष रुपमा १८.७ प्रतिशत र बहुआयामिक रुपमा २८.६ प्रतिशत रहेको गरिबी १० प्रतिशतभन्दा कममा भाmर्ने लक्ष्य तय भएको छ । ‘हामीले निरपेक्ष गरिबी ११ प्रतिशत र बहुअयामिक गरिबी १३ प्रतिशतमा सिमित गर्ने लक्ष्य तय गरेका थियौँ,’ आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले भने, ‘तर प्रधानमन्त्रीज्यूले गरिबी एकल अंकभन्दामाथि रहनु हुन्न भनेपछि नयाँ लक्ष्य १० प्रतिशतभन्दा कम राख्ने गरी योजना पास भएको हो ।’ योजना अवधिमा भोकमरी अन्त्यको घोषणा समेत गर्नुपर्ने सुझाव प्रधानमन्त्री ओलीको थियो । योजना पास गर्ने क्रममा आयोगले पहिल्यै तय गरिसकेका अन्य लक्ष्यमा भने प्रधानमन्त्री ओलीले खासै चासो देखाएनन् । गरिबी, भोकमरी र रोजगारी सिर्जनाका लक्ष्य केकति छन् भनी चासो राखेका थिए ।



