मूल खबर

सधैं लकडाउनमा गृहमन्त्री

नवराज मैनाली
काठमाडाैं

विपत् व्यवस्थापन कोषको डेढ अर्ब रुपैयाँ निष्क्रिय राखेर विपतमा खटेका प्रहरीको तलबबाट कोषमा रकम जम्मा गर्दै गृह मन्त्रालय
कहिले यातायात सिन्डिकेट अन्त भएको घोषणा त कहिले विकास अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको प्रचार, कुनै पनि योजना टुंगोमा पुर्‍याउन असफल गृह मन्त्रालय अहिले निष्क्रिय छ । तर, सधैं ‘लकडाउन’मा बस्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अहिलेको विपतमा पनि मौन छन् । लकडाउन लागू गराउन प्रहरीका जुनियर अधिकारीहरू फिल्डमा छन्, तर यही वेला पारिश्रमिक कट्टा गरेर नेतृत्वले सुरक्षाकर्मीको मनोबल घटाइदिएको छ । त्यसैले पनि विदेशबाट गाउँ फर्किएकालाई खोज्ने र क्वारेन्टाइनमा राख्ने काम फितलो भएको छ ।

१. विपत् प्राधिकरण सुनसान, सेनाको ब्यारेकबाट काम

भूकम्पको वेला भएको भद्रगोल व्यवस्थापनबाट पाठ सिकेर सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ । चार महिनाअघि मात्र सिइओसमेत नियुक्त गरिएको थियो, तर खास विपत्को वेला प्राधिकरण सुनसान छ ।

बरु, छाउनीस्थित नेपाली सेनाको गणमा अहिले चहलपहल छ । कोरोना क्राइसिस मेनेजमेन्ट टिम (सिसिएमसी) कार्यालय स्थापना गरेर काम भइरहेको छ, जब कि यस्तै वेलाका लागि प्राधिकरण गठन गरिएको हो । प्राधिकरणलाई भने तथ्यांक संकलन र विश्लेषणको जिम्मेवारीमा समेटिएको छ । प्राधिकरणका सिइओ अनिल पोखरेल भन्छन्, ‘हामीले उच्चस्तरीय समितिले दिएको जिम्मेवारीअनुसार काम गर्ने हो, अहिलेको समस्या आफैँमा जटिल छ ।’

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने उल्लेख छ । तर, लकडाउन सुरु भएयता यो समितिको बैठक बसेको छैन ।

२. विपत् कोषमा डेढ अर्ब, प्रहरीको तलब काटेर कोष बढाउँदै सरकार

कोरोना नियन्त्रण तथा रोकथाम अभियानमा स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी छन् । उनीहरू दिनमा १५ घन्टासम्म ड्युटी गरिरहेका छन् । उनीहरूलाई प्रोत्साहन भत्ता दिएर उत्साही बनाउनुपर्ने माग भइरहेको छ । तर, सरकारका निर्णयले सुरक्षाकर्मीलाई निरुत्साहित बनाइरहेको छ ।

केही विशेष टिममा काम गर्नेबाहेक अन्य सुरक्षाकर्मीलाई सरकारले दैनिक तीन सय रुपैयाँ खाजा खर्च मात्र दिने भएको छ । सामान्य अवस्थामा भन्दा धेरै र जोखिमपूर्ण जिम्मेवारीमा खटिनुपर्ने भएकाले उनीहरूलाई शतप्रतिशतसम्म भत्ता दिन माग गरिएको थियो ।

तर, उनीहरूकै तलबबाट कट्टा गरेर जम्मा भएको रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको छ । आइजिपी, एआइजी र डिआइजीको सात दिनको, एसपी, डिएसपी र इन्स्पेक्टरको पाँच दिनको तथा सइ र असइको तीन दिनको तलब कट्टी गर्ने निर्णय सरकारको निर्देशनमा नेपाल प्रहरीले लागू गरिसकेको छ ।
उता राष्ट्रिय विपत् कोषमा अहिले डेढ अर्ब रुपैयाँ छ । तर, त्यो रकम परिचालन गर्नुको सट्टा सरकारले असइदेखिका प्रहरीको पारिश्रमिक काटेर कोरोना उपचार कोषमा रकम जम्मा गरिरहेको छ । प्राधिकरणका सिइओ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘अहिले सो रकम खर्च गर्न मिल्दैन । आपत्कालीन घोषणा गरेको अवस्थामा मात्र त्यसबाट खर्च गर्न सकिने कानुनी प्रावधान छ ।’

३. शंकास्पद बिरामी ल्याउने जिम्मा गृहको, फिल्डमा सेना खटियो

गत ९ चैतमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको एउटा निर्णय थियो । शंकास्पद बिरामीलाई अस्पताल पुर्‍याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) गठन गरेको थियो । यसका लागि हरेक जिल्लामा प्रहरीलाई तालिम दिएर जिम्मेवारीमा खटाउने जिम्मेवारी गृहमन्त्रीले स्वीकार गरेका थिए । तर, आफैँ सहभागी भएको समितिले दिएको जिम्मेवारी गृहमन्त्रीले कार्यान्वयन गराएका छैनन् ।

बेल्जियमबाट फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलामा संक्रमण भेटिएको रिपोर्ट २० चैतमा आयो । तर, बिरामीलाई अस्पताल लैजाने जिम्मेवारी कसको भन्नेमा सरकारी निकायबीच नै अन्योल देखियो । जब कि उच्चस्तरीय समितिको म्यान्डेटअनुसार सो काम प्रहरी–प्रशासनको थियो । सिडिओ र प्रहरी पनि बिरामीको घरसम्म पुगेका थिए । त गृहले स्पष्ट दिशानिर्देश नगरेकाले सिडिओ र प्रहरी बिरामी नलिई फर्किए । पछि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आफँैले महिलालाई अस्पताल पुर्‍याएका थिए ।

काठमाडौं सामाखुसीको आशीर्वाद वृद्धाश्रममा बस्दै आएकी सरस्वती भुजेल गत १७ चैतमा बेहोस भइन् । वृद्धाश्रमले अस्पताल लैजान प्रहरीलाई खबर ग¥यो, गाडीसहित आश्रम पुगेको प्रहरीले बिरामीलाई छुन मानेन । सामाखुसीस्थित आश्रमबाट महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याउन तीन घन्टा ढिलो हुँदा बिरामीको मृत्यु भयो । ‘लकडाउन अवधिमा कसैलाई पनि नछुनु भन्ने माथिको आदेश छ, त्यसैले हाम्रा प्रहरीले बिरामी छोएनन्,’ सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठौरले नयाँ पत्रिकासँग त्यतिवेलै भनेका थिए । हो, प्रहरीको सुरक्षा पनि महत्वपूर्ण छ, तर फिल्डमा खटिने प्रहरीलाई आवश्यक साधन–स्रोत उपलब्ध गराउन गृह प्रशासनको कुनै पहल छैन ।

यी घटनामा उच्चस्तरीय समन्वय समितिमा गृह प्रशासनको आलोचना मात्र भएन, पिआरटीको नेतृत्व प्रहरीबाट खोसेर नेपाली सेनालाई दिने निर्णय गरियो । समितिको २३ चैतको बैठकपछि पिआरटीको जिम्मेवारी सेनाले पूरा गर्दै आएको छ जब कि केन्द्रमा अहिले पनि गृहमन्त्री नै यो जिम्मेवारीमा छन् ।

४. भारतबाट हिँड्दै सिमाना आइपुगेका नेपाली मजदुरको अवहेलना

भारतीय प्रहरीको लाठी र बुट खाँदै सिमानामा आएका नेपालीले स्वदेश फर्कन देऊ, क्वारेन्टाइनमा बस्न तयार छौँ भनेर तीन दिनसम्म नारा लगाउँदा पनि गृह प्रशासनको सहानुभूति तान्न सकेनन् । अझ कैलालीको त्रिनगर नाकामा आएका मजदुरलाई सरकारले २४ घन्टासम्म रोकेर राखेको थियो । छुट्टाछुट्टै समूहमा आएकाहरू एकै ठाउँ जम्मा भएर २४ घन्टासम्म नारा लगाउँदा एक–अर्कामा संक्रमण सरेको हुन सक्ने जोखिम छ । पछि गाउँ फर्किएका उनीहरूमध्ये दुईजनामा संक्रमण पुष्टि भएको छ ।

५. यहीवेला डिआइजीहरूको दरबन्दी कटौती

यहीवेला डिआइजीको प्रशासतर्फका २६ मध्ये १२ दरबन्दी कटौती गर्ने निर्णय भएको छ । यसबाट सयौँ प्रहरीको करिअरमा प्रत्यक्ष असर गरेको छ । प्रहरीमा दरबन्दी थपघट गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने प्रावधान छ । तर, विनासर्वेक्षण डिआइजीको दरबन्दी कटौती हुने भएको छ । यसबाट बढुवाको मुखमा रहेका सयौँ प्रहरी निराश भएका छन् । एकातिर देश संघीयतामा गए पनि प्रहरीको समायोजन अहिलेसम्म भएको छैन, अर्कोतिर गृहले डिआइजीको दरबन्दी भने यहीवेला कटौती गरेको छ ।

गृहमन्त्रीको आक्रामक ‘इन्ट्री’, गुमनाम नियति

 

यातायात सिन्डिकेट

वर्तमान सरकार र गृहमन्त्रीको पहिलो राम्रो कामका रूपमा यातायात क्षेत्रको सिन्डिकेटविरुद्धको कारबाही मानिएको थियो । एनजिओका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिले करोडौँको व्यापार गरिरहेका थिए । ती सबै समिति खारेज गर्ने र कम्पनीमार्फत यातायात व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय भएको थियो । तर, जनताबाट अथाह समर्थन पाउँदा पनि गृह आफ्नो निर्णयमा अडिग हुन सकेन । अहिले सिन्डिकेट जस्ताको त्यस्तै सञ्चालित छन्, सार्वजनिक यातायात सुधारको काम अलपत्र छ ।

ठेकेदारमाथिको कारबाही

मन्त्री बादललाई चर्चामा ल्याउने अर्काे कडी थियो– समयमा काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही  । गृहमन्त्रीको निर्देशनमा विभिन्न जिल्लामा केही ठेकेदार पक्राउ पनि परे । जनस्तरबाट प्रशंसा सुरु हुन थालेपछि गृहमन्त्री आफैं पछि हटे । त्यति मात्र होइन, ठेक्का प्रणाली जिम्मेवारी बनाउन सरकारले तयार गरेको सार्वजनिक खरिद नियमावली पनि पटकपटक संशोधन गरिएको छ ।

सुन तस्करीमा छानबिन

सुन तस्करविरुद्धको कारबाहीलाई गृह मन्त्रालयको सफलताका रूपमा प्रचार हुँदै आएको छ । तर, तस्कर गिरोहमाथिको अनुसन्धान अधुरै रह्यो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले दिएको प्रतिवेदनसमेत कार्यान्वयन नगरी सरकारले तस्कारीमा संलग्न थप व्यक्तिहरूलाई उन्मुक्ति दिएको छ । मुद्दा दायर भएको गिरोहका नाइकेहरू पनि दुई वर्षसम्म पक्राउ परेका छैनन् ।

निर्मला पन्त बलात्कार तथा हत्या

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा गृह प्रशासन २० महिनासम्म कुहिरोको काग बनेको छ । गृह प्रशासनले सातवटा टोली बनाएर अनुसन्धानमा खटाएको छ । तर, अहिलेसम्म दोषीलाई कठघरामा उभ्याउन सकेको छैन । सामाजिक न्यायका लागि अभूतपूर्व आन्दोलन हुँदा पनि मन्त्री र प्रधानमन्त्रीसँग स्पष्ट जवाफ आएको छैन । प्रधानमन्त्रीले दोषी पक्राउ पर्न १२ वर्षसम्म लाग्ने टिप्पणी गरेका छन् भने गृहमन्त्रीले पुँजीवादका कारण बलात्कार बढेको भनेर आफ्नो उत्तरदायित्वबाट उन्मुक्ति लिएका छन् ।

विप्लवको विद्रोह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह अहिले पनि भूमिगत छ । तर, सरकारले उनीहरूलाई राजनीतिक शक्ति मानेर वार्ताबाट समस्या समाधान गर्न सार्थक पहल गर्न सकेको छैन । बरु, विप्लवका कार्यकर्ताको गैरन्यायिक हत्या गरिएको भनेर राष्ट्रिय मानवअधिकार आयोगले नै आपत्ति प्रकट गरेको छ । खासगरी सर्लाहीका कुमार पौडेलको इन्काउन्टर घटनामा गृह प्रशासन थप आलोचित भएको छ । सो घटनामा संसद् अवरुद्ध भएपछि गृह मन्त्रालयले छानबिन समिति बनायो । जसमा दोहोरो भिडन्तमै पौडेलको मृत्यु भएको प्रतिवेदन प्रस्तुत भएको छ । तर, मानवअधिकार आयोगको छानबिनमा उनलाई नियन्त्रणमा लिएर गोली हानेको खुलेपछि गृहको भूमिकाको आलोचना भएको थियो । त्यसमा संलग्न दोषी प्रहरीलाई कारबाही गर्न भएको सिफारिस अहिलेसम्म गृहले कार्यान्वयन गरेको छैन ।

आफन्तबाट पनि विवादमा

आफ्नै सचिवालय तथा आफन्तबाट पनि गृहमन्त्री विवादमा परेका छन् । प्रहरीका सरुवा–बढुवामा सचिवालयको चलखेलले उनलाई विवादमा पार्दै आएको मन्त्रालयका एक अधिकारी बताउँछन् । आपराधिक गिरोहसँग मिलेको आरोपमा उनकै भाइ नरेश थापाको संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको थियो । तर, गृहमन्त्रीको आदेशमा उनलाई कारबाहीविना रिहा गरियो ।

बढुवा गर्न नियमावली संशोधन

गत वर्ष डिआइजीको एक पद रिक्त थियो, जुनियर डिआइजी विश्वराज पोखरेललाई बढुवा गरेर गृहमन्त्रीले प्रहरीमा गलत नजिर स्थापित गरेका छन् । दुई ब्याच मिचेर उनलाई डिआइजीमा बढुवा गरिएको थियो । त्यस्तै, एसएसपी दीपक थापालाई बढुवा गर्न प्रहरी नियमावली नै संशोधन गरियो । एसपी भएको चार वर्षपछि मात्र बढुवा हुने प्रावधान रहेकोमा थापाको अवधि नपुगेकाले संशोधन गरेर तीन वर्ष बनाइएको थियो । अझ देश संघीयतामा गए पनि प्रहरी समायोजनतर्फ गृह मन्त्रालयले अर्थपूर्ण काम गर्न सकेको छैन । त्यसैले संघ र प्रदेशबीच अविश्वास बढेको छ ।

नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button