
२३ असोज २०७७
ललितपुर । नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा त्यागी नेता रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वास पात्र प्रसाईं २०१५ सालको आम निर्वाचनमा भने प्रजापरिषद्को तर्फबाट संसदमा उम्मेदवार बनेका थिए ।
२०४३ सालमा नेपाली कांग्रेस झापाको सभापति भएका प्रसाईंको जिल्ला कार्यसमितिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला उपसभापति, पूर्व बनराज्यमन्त्री बीरमणी ढकाल सचिव र पूर्वमन्त्री स्वर्गीय चक्रप्रसाद बास्तोला सदस्य थिए ।
प्रसाईंले पार्टीको जिल्ला सभापति भए पनि २०४३ पछि उपसभापति सिटौलालाई कार्यवाहक सभापति बनाएपछि २०४८ मा कांग्रेसको आठौं महाधिवेशन झापाको कलबलगुडीमा भएको थियो । २०४८ सालको आम निर्वाचनमा झापाको तत्कालिन ५ नम्वर क्षेत्र र २०५१ मा झापाको तत्कालिन २ नम्वर क्षेत्रमा कांग्रेसको उम्मेदवारबनेका थिए ।
त्यागी र मित्तव्ययी स्वभावका खनुपरुदेलाई २०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए ।
सामाजिक सेवा र कल्याणकारी कार्यमा आर्थिक र भौतिक सहयोग गरेका खनुपरुदे राजधानीको त्रिमुर्ती निकेतक साहित्यिक संस्थामा समेत संलग्न रहेका थिए । राजनीतिमा बढ्दै गएको विकृति र फजुल तथा विलासी खर्च गर्ने शैलीको खनुपरुदे कट्टर विरोधीका उनी चिनिएका थिए ।
पछिल्लो समयमा राजनीतिमा सक्रिय हुन छाडेका खनुपरुदेका छोरा टोरुप प्रसाईं खानेपानीको केन्द्रिय अध्यक्ष तथा विभिन्न सामाजिक तथा संघसंस्थामा सक्रिय रहेका थिए।
निरंकुश पञ्चायती व्यवस्थाको बिरोधमा नेपाली काँग्रेसले सञ्चालन गरेको क्रान्तिमा सरिक भएवापत उनले भारतमा निर्वासित जीवन बिताउनु परेको थियो भने पटक पटक जेल र हिरासतमा बस्नु परेको थियो ।
बिर्तामोडको हालको देवी मावि, बुधबारे हटिया र कृषिथोक बजारका जग्गादाता समेत रहेका प्रसाई पछिल्लो समय काठमाण्डौंमा बस्दै आएका थिए ।



