मूल खबर

नेपालमा एकैदिन पाँच हजार ८ जना कोरोना संक्रमित थपिए

२४ असोज २०७७

ललितपुर । देशभर पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च पाँच हजार ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । डा गौतमका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार १८१ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ६५४ जना र होम आइसोलेसनमा १७ हजार १६४ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १९ हजार ३२० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ६४ हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७७ जनाको भेन्टिलेटरमा र ३२१ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७४ हजार २५३ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २२९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७०।२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button