मूल खबर

तातोपानी नाका आजदेखि फेरि खुल्दै, दैनिक ५ वटा ट्रकमा ३० टन सामान आउने

१२ कार्तिक २०७७
जनादेश, काठमाडौं ।

नेपाल र चीनबीचको व्यापारिक तातोपानी नाका आज (बुधबार)देखि फेरि खुल्दै छ।

असोज १९ गते खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको नाका खुल्ने तय भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईले जनादेशलाई जानकारी दिए ।

तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको उनले बताए । चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।

नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको हो ।

केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन्।

यस अघि अनलोड गर्ने कर्मचारीमा कोरोना देखिएपछि चीनले नाका सञ्चालन गर्न अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button