खबर

हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको जनगणना हुने

२४ मंसिर २०७७
काठमाडाैँ ।
आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायत संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका भएका व्यक्तिको समावेशी गणना’ विषयक छलफल कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछाने उक्त जानकारी दिनुभएको हो ।

उहाँले नेपालको बाह्रौँ आवधिक जनगणनाले सङ्घीय प्रणालीअन्तर्गत तीनै तहका सरकारलाई आवधिक योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विभागले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय गणना गर्ने तयारी गरिरहेको छ । हरेक दश वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले गणनामा अपाङ्गता भएका सबै नागरिकको सहज सहभागिता हुने स्थिति सिर्जना गर्न विभागलाई आग्रह गर्नुभयो । महासङ्घका पूर्वाध्यक्ष डा वीरेन्द्रराज पोखरेलले वडातहसम्म परिचालन गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु गणनामा नछुट्ने प्रबन्ध हुनुपर्ने बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरु गणक वा सङ्कलकका रुपमा पनि रहन सक्ने प्रबन्धका लागि आग्रह गर्नुभयो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button