खबर

आगोले घेरिँदै ताचै, स्थानीय रातभर जागै

१६ माघ २०७७
newsofnepal
यदुप्रसाद भट्ट, काठमाडौं ।

मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोख्नुभयो । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् ।तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताउनुभयो । तीव्र वेगमा हावा चलेकाले नियन्त्रणमा लिन कठिन भएको उहाँको भनाइ छ ।

उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भन्नुभयो– ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौं ।’रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उहाँको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔं दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो।’ –घलेले आफ्नो बाध्यता सुनाउनुभयो ।

‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, घलेले भन्नुभयो– ‘पूर्णिमाको दिन भएकाले गाउँमा सबै हुँदा अलि सहज भएको छ ।’ ‘कहिले जंगलको आगो निभाउन त कहिले मान्छे जलाउन आगो बाल्दैमा हाम्रो यो साल बित्यो, सुखसँग गास हालेर सास फेर्न पाइएन।’ –घलेको भनाइ थियो ।

ताचैका संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आफू पानी ओसार्ने, आगो निभाउने प्रयासमै रहेको बताउँदै कुराकानी गर्न अस्वीकार गर्नुभयो । त्यसै गरी स्थानीय रोशन गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले चासो नदिएको गुनासो गर्दै भन्नुभयो– ‘किन छानबिन भएन, गाउँले सबै लगेर सोधपुछ गर्नुपथ्र्यो एक्यापले गरेन ।’ आगो गाउँमा छिरेपछि पनि सुरक्षा नपाएकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले खाजा खाना नखाई आलोपालो गरेर अहोरात्र खटिएको बताउनुभयो ।‘प्रशासनले चासो त नदिएकै हो, जंगल आगोले सखाप पा-यो, घाँसपात छैन पशुचौपाय भोकै मर्ने भए।’ –ताचैका स्थानीय वृद्ध नरजंग घलेले दुखेको गर्नुभयो । उहाँले भन्नुभयो– ‘अपराधी पत्ता लगाउन सकेन, कानुनी कारबाही गर्नुपर्नेमा भएन, थाहा भए पनि वास्ता नगर्दा जोखिम बढ्यो ।’

आगोले एक्याप क्षेत्रको २ हजार हेक्टर जंगल सखाप पारेको छ । भिरालो ठाउँमा आगोको कोइला पल्टिँदा स्थानीय भागाभाग गरेका थिए । जंगल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । सबै सुरक्षा निकाय पुगेपछि आगो नियन्त्रणमा आई गाउँ सुरक्षित हुनेमा ताचैका स्थानीय ढुक्क छन् । आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेको सञ्चारकर्मी नवीन लामिछानेले जानकारी दिनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले शुरुमा आउन नसके पनि शान्ति सुरक्षा जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘खोजअनुसन्धान गर्न निर्देशन दिएको छु ।’ छिटोभन्दा छिटो दोषी पत्ता लगाएर कारबाही गर्ने उहाँको प्रतिबद्धता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button