सृजनाको चौतारी

अवचेतनभित्रको एउटा पात्र अनि समाजभित्रका कथाहरु

जी एन शर्मा
अक्सर उनका सृजनाहरुमा मुक्ति, स्वतन्त्रता, समानता र विद्रोहका स्वरहरुको उकुसमुकुस पाईन्छ । प्रगतिवादी धारको मेयोलाई च्याप्प समाएर आफ्ना सृजना पस्कन माहिर स्रष्टा यज्ञराज प्रसाईको पछिल्लो सृजना कथा संग्रह ‘अवचेतनभित्रको एउटा पात्र’ पढ्ने मौका बेलामा पाइयो । एघार ओटा विषयसूचीमा रहेका प्रसाईका कथाहरुमा कतै पनि कल्पनाको छनक भेटिदैन । जिवन, जगत र समाजलाई खिप्ति पाराले उधिनेर पाठक समक्ष ल्याउने उनका अन्य जनपक्षीय सृजना जस्तै यो कथा संग्रहले पनि पुरानै यात्रालाई निरन्तरता दिएको छ ।
यो कथा संग्रह भित्रका सबै कथाहरु समाजभित्रका कथाहरुको एक मुष्ठ अभिब्यक्ति हो । वर्तमानको नेपाली समाजमा उदाएका सामाजिक घट्ना जो राजनीतिदेखि निजि जिवनसँग जोडिएकाछन् प्रसाईको यो संग्रहमा प्रतिनिधि पात्रका रुपमा पाईन्छ । आडम्बरदेखि दुर्दशामा बाँचेको वहोस मान्छे सबै कथा समाज भित्रका गुम्सिएका अभिब्यक्तिका रुपमा रहेकाछन् । अवचेतनभित्रको एउटा पात्र भित्र राजनीतिको खेलमैदानमा देखिएका चण्डालदेखि चिन्तामणी सम्मका पात्रहरुको चरित्रलाई कथाकारले उदाङ्गो पारेकाछन् । कथाकार प्रसाईको लेखकीय शैली नै समाजको यथार्थताको चित्रण नै हो । कथाकार स्वयम् नै क्रान्ति, चेत, विद्रोह र स्वतन्त्रताका पक्षधर भएकाले पनि हुनु पर्छ यो कथा संग्रहभित्रका उनका कथाका पात्रहरुले कतै न कतै विद्रोह वा उन्मूक्ति र आक्रोशको खोजी गरेको पाईन्छ । कथा संग्रहमा समेमिटएका एघार ओटै कथा समाजका कथाहरु हुन् जो अहिले पनि उस्तै रहेकाछन् अर्थात यस्तै कथाहरु हाम्रो समाजमा असरल्ल भेटिन्छन् ।
कथा संग्रहमा परिवर्तन पछिको उज्यालोमा केही मुखियाहरुको मात्र दाईँ चलेको र निमुखाहरु सधै मौन रहनु पर्ने तिता सामाजिक यथार्थहरुलाई कथाकारले खिपेर जोडेकाछन् । फरक फरक प्रसङ्ग र पात्र चरित्रको उद्घाटन भए पनि अवचेतनभित्रको एउटा पात्र नामक कथा संग्रह नेपाली समाजको वर्तमानको सत्य सामाजिक भोगाई पनि हो । पवित्रा प्रसाईले कथा संग्रहलाई प्रकाशन गरेको कथाकार यत्रराज प्रसाईको यो पुस्तक संख्यात्मक रुपमा मात्र होइन गुणात्मक रुपले पनि नेपाली प्रगतिवादी साहित्यको भण्डारमा एउटा उम्दो समाजको चित्रणका रुपमा अब्बल भएर रहने छ भन्ने कुरामा कुनै सन्देह छैन । परिचित प्रगतिशिल साहित्यकार यत्रराज प्रसाईसँग आगामी दिनमा पनि यस्तै सृजनाको अपेक्षा सहित वधाई नमन गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button