मूल खबर

उत्तराखण्डमा हिमनदी फुट्दा मृत्यु हुने १० नेपाली मजदुरको पहिचान

काठमाडौं ,माघ २८, २०७७
भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।

हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।

उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’

‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । ‘यो विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत–क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार–ऋषिकेशको नेपाली समाज लागिपरेको छ,’ पाण्डेयले भने, ‘तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’

यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button