
काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छन् ।
बिहीबार दिउँसो निवासबाटै पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।
हिरासत मुक्त भएसँगै झाँक्रीले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने उद्घोष गरिन् ।
‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो। प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर चौतर्फी विरोध र अविलम्ब रिहाइको माग भएसँगै प्रहरीले उनलाई रिहा गरेको थियो।



