
५ फागुन २०७७
चौतारी पोष्ट अनलाइन
बिर्तामोड । बाल अधिकार सुनिश्चितताका लागि बुधबार बिर्तामोडमा आयोजित जिल्लास्तरीय छलफल कार्यक्रमपछि ६ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ ।
‘बाल संरक्षणका लागि ऐक्यबद्धता’ भन्ने मूल उद्घोषसहित राष्ट्रिय बाल अधिकार परिषद् काठमाडौंको सहजीकरणमा सम्पन्न भेलाले सो प्रतिबद्धता पत्र जारी गरेको हो ।
जिल्ला समन्वय समिति झापाले आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले छलफलपछि प्राप्त निष्कर्षका आधारमा हस्ताक्षरसहित यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सो अन्र्तक्रियामा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, बाल हेल्पलाइन १०९८ का प्रमुख, व्यवस्थापक संस्थाका पदाधिकारीहरुलगायतको उपस्थिति थियो ।
प्रतिबद्धता पत्रमा भनिएको छ–बाल अधिकार सुनिश्चितताका लागि संघीय, प्रदेश, स्थानीय सरकारहरु तथा सरोकारवाला विज्ञ आपसी समन्वयमा काम गर्न प्रतिबद्ध छौं । स्थानीय तहहरुमा बालबालिका सम्बन्धी कार्याविधि, नीति, रणनीतिक योजना बनाई कार्यान्वयन गर्न प्रतिबद्ध छौं । स्थानीय तहमा बाल अधिकार सुनिश्चितताका लागि बालबालिका सम्बन्धी ऐन २०७५ ले व्यवस्था गरेको प्रावधानलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।
नेपालको संविधानले प्रदत्त गरेको बाल अधिकारलाई सम्मान गर्दै मिति २०७७ पुस २८ गते विराटनगरमा बाल अधिकार सुनिश्चितताका लागि प्रदेशस्तरीय छलफल कार्यक्रमबाट घोषणा भएको ११ बुँदे घोषणा पत्रको कार्यान्वयन गर्ने । मानव अधिकार मञ्च नेपाल, महिला जनचेतना केन्द्र साथै बालबालिका सम्बन्धी गैर सरकारी संस्थाहरुले बाल अधिकारको संरक्षण र प्रवद्र्धनका लागि प्राविधिक सहयोग गर्ने, झापाका सबै पालिकाहरुलाई बालमैत्री घोषणा गर्न आवश्यक नीति, कार्याविधि, रणनीति बनाई बालमैत्री झापा जिल्ला घोषणा गर्न हामी प्रबिद्धता छौं ।
त्यसक्रममा राष्ट्रिय बाल अधिकार परिषद्, १ नं। प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले स्थानीय तहमा बालअधिकार प्रवद्र्धन अवस्था, चुनौति, सम्भावना र भूमिका बारे धारणा राखेका व्यवस्थापन संस्था महिला जनचेतना केन्द्रकी अध्यक्ष भुवन सुब्बाले बताइन् ।
त्यस्तै, बाल हेल्पलाइन प्रमुख बासु अधिकारीले ‘बाल हेल्प लाइन–१०९८’ बारे अवगत गराउँदै हाल देशभर उक्त हेल्प लाइन १८ र १ नं। प्रदेशमा ५ वटा सञ्चालन भइरहेको जानकारी गराएका केन्द्रका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले बताए ।
छलफलमा जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, अर्जुनधारा नगरपालिका उपप्रमुख कमला आचार्य, झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल, शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले विचार राखेका थिए ।
अन्र्तक्रियामा बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेणुका गौतम, गैर सरकारी संस्था महासंघ जिल्ला सचिव सोमराज ढकाललगायतले धारणा राखेका थिए ।
सो अवसरमा मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेवेले मञ्चले विगतदेखि वर्तमानसम्म प्रदेशभर सञ्चालन गर्दै आएका कार्यक्रमहरु बारे प्रस्ट्याएका थिए ।
मानव अधिकार मञ्च नेपाल इलाम र महिला जनचेतना केन्द्र काँकरभिट्टाको व्यवस्थापन तथा जर्मनस्थित बालअधिकारवादी संस्था किन्डर मिसन रेकको सहयोगमा भएको उक्त कार्यक्रमको औचित्यबारे मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले प्रकाश पारेका थिए ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत केन्द्रकी सचिव सीता गुरुङ र सञ्चालन केन्द्रकी कार्यकारी प्रमुख राधा प्रधान कार्कीले गरेकी थिइन् ।



