खबर

ओली सरकार ढाल्ने देउवाको प्रस्तावमा महन्थ असहमत !

काठमाडौं, चैत २८, २०७७
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो।

नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो।

बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए। कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम देउवाले औपचारिक रूपमा माओवादी केन्द्र र जसपाका नेताहरूसँग छलफल गरेका हुन्। देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो।

देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो। तर जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन्। स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ। यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन।’ ठाकुरले ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि बताएका थिए। नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button