खेलकुद

पिएसजीको मैदानमा म्यानचेस्टर सिटीको जित

वैशाख १६, २०७८

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैदानमा जित दर्ता गरेको छ । खेलको पहिलो हाफमा पछि रहेपनि सिटीले उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित हासिल गरेको हो ।

खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजी अघि बढेको हो । एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए । अग्रता लिनुभन्दा दुई मिनेटअघि मात्र नेयमारले एकल प्रयासमा बढाएको आक्रमणलाई गोलरक्षक एडरसनले विफल पारेका थिए ।

२१ औं मिनेटमा बर्नार्डो सिल्भाको प्रहारलाई गोलरक्षक केलर नाभासले विफल पार्दै अग्रता जोगाएका थिए । २८ औं मिनेटमा नेयमारको कर्नरमा लिआन्द्रो पारेडेसको हेडर पोस्टभन्दा थोरैले माथि जाँदा पिएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३३ औं मिनेटमा सिटीले आक्रमण बुनेपनि पारेडेसले फिल फोडेनको प्रहार रोक्न सफल रहे ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा सिटीले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । फोडेनले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा सिटी खेलमा पछि रहेपनि दोस्रो हाफमा पेप गुआर्डीओलाको टोलीले सानदार पुनरागमन गर्यो ।

६४ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । डे ब्रुएनले क्रस गर्न खोजेको बल गोलरक्षक नाभास समेतलाई झुक्याउँदै गोलमा परिणत भएको थियो । खेल बराबरीमा भएको ८ मिनेट नबित्दै सिटीले अग्रता लिएको थियो । रियाद माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई महत्त्वपूर्ण अग्रता दिलाए ।

खेलमा पछि परेको पिएसजीले ७८ औं मिनेटमा एक खेलाडी पनि गुमाउन पुग्यो । मिडफिल्डर इड्रीसा गेयेले इल्काए गुन्डोगनमाथि डरलाग्दो ट्याकल गरेपछि रेफ्री फेलिक्स बिर्चले सिधै रातो कार्ड देखाए । इन्ज्युरी समयमा सिटीले अग्रता बढाउने अवसर पाएपनि डे ब्रुएनको प्रहार पोस्टभन्दा माथिबाट गयो ।

यस जितसँगै सिटीले घरेलु मैदानमा हुने दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता पाएको छ । दोस्रो लेग मंगलबार सिटीको मैदानमा हुनेछ । अर्को सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडको मैदानमा १-१ को बराबरी खेलेको थियो । फाइनल खेल इस्तानबुलमा २९ मेमा हुनेछ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button