खबर

उपनिर्वाचनका लागि पाँच दल दर्ता

१७ बैशाख २०७८
नेपाल समाचारपत्र, काठमाडौं

वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि पाँच राजनीतिक दल दर्ता भएका छन् ।यही जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुन लागिएको हो । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिह्न, क्रम निर्धारण तथा मतदाता नामावली विषयमा निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपा एमालेलाई सूर्य चिह्न प्रदान गर्दै पहिलो क्रममा राखिएको छ । त्यस्तै, दोस्रो क्रममा नेपाली कांग्रेसलाई रुख चिह्न प्रदान गरिएको छ भने तेस्रोमा माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौंडा चिह्न दिइएको छ । त्यसै गरी, चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिह्न र पाँचौं नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न दिइएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने निर्णयअनुरूप सो कार्य गरिएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचनको कुल मतदाता संख्या पनि टुंगो लगाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्य १ सय १० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी जम्मा ३ सय ४८ जना मतदाता रहनेछन् । स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने तयारी आयोगले गरेको छ ।प्रकाशित मतदाता नामावलीमा सोही दिन नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी दिन सकिने व्यवस्था मिलाएको पनि आयोगले जनाएको छ ।

माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाको सदस्यबाट रामबहादुर थापा ‘बादल’ लाई पदमुक्त गरिएको थियो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेअनुरूप सो उपनिर्वाचन गराउन लागिएको हो । त्यसको तयारीका लागि बिहीबारदेखि लागू हुने गरी मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत पदमा आयोगको गत मंगलबार नियुक्ति गरेको थियो । न्यायपरिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा सो नियुक्ति गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button