
वैशाख २७, २०७८
एजेन्सी – साविक विजेता तथा यो सिजन उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा रेनिससँग बराबरीमा रोकिएको छ ।
सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले रेनिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । रेनिसको मैदान रोआजोन पार्कमा आइतबार राति भएको खेलको पहिलो हाफमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएपनि दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा सेरोउ गुइरास्सीले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन ३ मिनेट बाँकी रहँदा प्रेसनेल किमपेम्वे सिधै रातो कार्ड खाँदै मैदानमा बाहिरिएपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
बराबरीपछि पीएसजीको उपाधि यात्रामा धक्का लागेको छ । लिग वानमा दुई खेल बाँकी छदाँ पीएसजी शीर्षस्थानको लिलसँग ३ अंकले पछि परेको छ । लिलको ३६ खेलबाट ७९ तथा पीएसजीको ७६ अंक छ । रेनिस ५५ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
यस्तो अवस्थामा पीएसजीलाई च्याम्पियन बन्न बाँकी दुवै खेलमा जित निकाल्नुका साथै शीर्ष स्थानको लिलले अंक गुमाउनुपर्ने हुन्छ । लिग वानमा अब पीएसजीले रेइम्स र ब्रेस्टसँग खेल्न बाँकी छ । लिलले सेन्ट इटिएन र एन्जर्ससँग खेल्न बाँकी छ ।hamrokhelkud/from



