बैशाख २९, २०७८
काठमाडौँ । कोरोना (कोभिड–१९) महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । उपत्यकामा सङ्क्रमण दर नघट्दा र यहाँबाट देशभर अझै पनि आवतजावत भइरहँदा समग्र सङ्क्रमण पनि घट्न सकेको छैन ।
जनस्वास्थ्यविद्हरूले स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताएका छन् । सङ्क्रमण अत्यधिक बढेको भारतसँग आवतजावत भइरहेका कारण उपत्यकाको सङ्क्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने उनीहरूको निष्कर्ष छ ।
सङ्क्रमितको सङ्ख्या नघटेपछि फेरि दुई साताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । आउँदो निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णयसमेत भएको छ ।
काठमाडौँ उपत्यकामा वैशाख ९ गते बिहीबार नयाँ सङ्क्रमित एक हजार १७४ फेला परेकामा वैशाख १५ गते बुधबार दुई हजार ४७ थपिएका थिए ।
वैशाख १६ गते बिहीबार एक साताका लागि निषेधाज्ञा जारी भयो । त्यो दिन एक हजार ५६१ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने वैशाख २२ गते बुधबार तीन हजार ८२५ जना थपिए । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या उपत्यकामा वैशाख २८ गते बुधबार तीन हजार ९२७ जना पुग्यो । वैशाख २६ गते आइतबार अहिलेसम्मकै सबभन्दा बढी चार हजार १९८ जना नयाँ सङ्क्रमित फेला परे ।
निषेधाज्ञा भएको दुई साता भएको छ, तर दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । निषेधाज्ञा जारी भएको दिन वैशाख १६ देखि २८ गते मङ्गलबारको अवधिमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या डेढ गुणाले बढेको छ ।
मङ्गलबार मुलुकभर नौ हजार ४८३ जना सङ्क्रमित थपिएकामध्ये तीन हजार ९२७ जना अर्थात् ४१ प्रतिशत काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा अहिले ४० हजार २२२ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक सातामा झन्डै एक चौथाइले सक्रिय सङ्क्रमित बढेका हुन् ।
समस्या चेन ब्रेकको
वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्न अझै एक महिना लाग्ने बताउनुभयो । उहाँले नागरिकले स्वास्थ्य मापदण्ड पालनामा गम्भीरता नदेखाएको र पर्याप्त आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमित एउटै परिवारसँग बसेकाले सङ्क्रमण फैलिरहेको बताउनुभयो ।
डा. पाण्डेले अहिले पनि भारतसँग आवतजावत भइरहेका कारण भारतमा सङ्क्रमण नघटेसम्म नेपालमा घट्न नसक्ने दाबी गर्नुभयो ।“कोरोना नभएको देशमा हवाई उडान बन्द गरिएको छ तर भारतबाट हवाई र गाडीबाट पनि मानिस सहजै आइरहेका छन्”, पाण्डेले भन्नुभयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाहिरी ‘चेन’भन्दा भित्री ‘चेन’ तोड्न कठिन भएको बताउनुभयो । उहाँले भित्री ‘चेन ब्रेक’ गर्न समस्या भएकाले अझै केही समय काठमाडौँ उपत्यकाको सङ्क्रमण नियन्त्रणमा नआउने बताउनुभयो ।

मृत्युदर थपिँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट १३९ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
मङ्गलबार देशभर थप नौ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप पाँच हजार २२५ जना सङ्क्रमित निको भएका छन् । योसहित निको हुनेको सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ । निको हुनेको सङ्ख्या पनि हालसम्मकै धेरै हो । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार आठ रहेको छ भने क्वारेन्टाइनमा ४४८ जना छन् ।गोरखापत्र अनलाइन



