खबर

अक्सिजन उत्पादन प्रयास बिफल

१ जेष्ठ २०७८

न्युज अफ नेपाल, हेटौंडा ।

अक्सिजन प्लान्ट नभएका कारण कोरोना संक्रमित पीडामा परेको बेला आशा बोकेर गएको प्राविधिकसहितको टोली निराश बनेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा २०३३ सालमा स्थापना भएर २०३९ सालदेखि सञ्चालनमा आएर ‘शान्ति’ ब्राण्डमा वनस्पती घिउ उत्पादक नेपाल वनस्पती घिउ उद्योगमा जडित प्लान्ट मर्मत गरेर अक्सिजन उत्पादन गर्ने प्रयास सफल हुन नसकेको हो । उद्योग २०६४ सालदेखि बन्द छ ।

‘उद्योगमा रहेको प्लान्टबाट केही अक्सिजन उत्पादन हुने गर्दथ्यो । त्यो पनि निकै जीर्ण र चल्नै नसक्ने हालतमा रहेको पाइयो,’ लामो समयदेखि बन्द अबस्थामा रहेको उक्त उद्योगमा शनिबार अवलोकनका लागि पुग्नुभएका प्लान्ट सञ्चालन अगुवा सञ्चारकर्मी उज्ज्वल चौलागाईंले भन्नुभयो–वायो इञ्जिनियरसहित टोलीले अवलोकन गरेपछि चल्नै नसक्ने अबस्थामा रहेको पाइयो ।

सरोकारवाला तथा जिज्ञासुको चाहना पूरा गर्न प्रदेश सरकारसमेतको सहभागितामा वायोइञ्जिनियर समेतको टोलीले उद्योगमा रहेको प्लान्ट अवलोकन गरेको थियो । ज्यादै पुरानो प्लान्टले अक्सिजन उत्पादन गर्ने भए पनि हालको प्रविधिअनुरुप प्लान्ट सञ्चालनयोग्य नरहेको उहाँले जानकारी गराउनुभएको छ । ‘प्लान्ट मर्मत गरी सञ्चालन गर्न असम्भव छ,’ उहाँले भन्नुभयो ।

उद्योग सञ्चालनकै अबस्थामा बन्द भएको भन्दै एक पूर्व कर्मचारीले भने–बाहिरी आवरण हेरेर निर्णय लिनु भन्दा विद्युत् लाइन जोडेर हेरेको भए हुन्थ्यो । चल्ने÷नचल्ने विषयमा उद्योगमा कार्यरत् तत्कालीन कामदार संलग्न गरी अवलोकन गर्न उनले आग्रह गरे । ‘नचल्ला जस्तो लाग्दैन,’ उनको दाबी छ ।

उद्योगमा ९० प्रतिशत्भन्दा बढी साल्ट ट्रेडिङ र बाँकी सर्वसाधारणको लगानी रहेको बताइएको छ । लामो समयदेखि बन्द रहेको उक्त उद्योग पुुनर्संञ्चालन गरी खानेतेल उत्पादन गर्ने उद्धेश्य राखिएको थियो । प्रशोधित तेल उत्पादन गर्न चीनबाट तेल उत्पादन गर्ने प्लान्ट पनि किनिएको थियो ।

उद्योग बन्द हुुँदा एक सय १७ जनाले रोजगारी गुुमाएका थिए । घिउको बिक्रीमा बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द भएको थियो । तत्कालीन समयमा भारतबाट आयात हुुने डाल्डा घिउलाई विस्थापित गर्ने उद्धेश्यसाथ ‘शान्ति’ ब्राण्डको वनस्पती घिउ उत्पादन थालिएको थियो।

उद्योगमा स्व. पूर्वराजा महेन्द्र शाहकी छोरी शान्ति राज्यलक्ष्मीको समेत लगानी थियो । २०४४ सालमा शाहले आफ्नो सेयर साल्ट ट्रेडिङलाई बेचेपछि ट्रेडिङले ९० प्रतिशत् सेयर आफूसँग राखेर १० प्रतिशत् सर्वसाधारणलाई बेचेको थियो ।

उद्योगले औद्योगिक क्षेत्रभित्रको ६९.७३ रोपनी जग्गा उद्योग प्रयोजनमा २०५३ सालदेखि र ९.२३ रोपनी जग्गा आवास प्रयोजनका लागि २०५९ सालबाट लिजमा लिएको थियो । लिज अवधिको २० वर्ष पूरा गरेको उद्योग हाल बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button