खबर

सर्वोच्चको आदेश – उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

काठमाडौं ,जेठ ४, २०७८
सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायका विषयमा राज्यको जिम्मेवारी वहन हुने प्रतिबद्धता व्यक्त भएको स्पष्ट र कार्यान्वयनयोग्य कोभिड–१९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने हकको प्रत्याभूति गरेको भन्दै सर्वोच्चले कोभिड–१९ महामारीका कारण सर्वसाधारण अक्सिजन, आधारभूत औषधि र अन्य स्वास्थ्योपचार प्राप्त गर्न नपाई स्वस्थ जीवनको हकबाट समेत वञ्चित हुनुपरेको अवस्था आएको बताएको छ ।

‘कोभिड–१९ को महामारीका कारण नागरिक उपचार नपाई मृत्यु कुरेर बस्नुपर्ने स्थिति अत्यन्त गम्भीर र चिन्ताजनक अवस्था हो,’ आदेशमा भनिएको छ, ‘जनताको जीवन रक्षा गर्न राज्यको सबैभन्दा महत्वको जिम्मेवारी हो । स्वास्थ्य उपचार नपाएर नागरिकको मृत्यु हुनु भनेको राज्य नागरिकको जीवन रक्षा गर्ने दायित्वप्रति गम्भीर र संवेदनशील नभएको अवस्था हो ।’ राजधानी दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button